टोपीले चिनायो न्युयोर्कमा

विनोद रोका

न्युयोर्क शहरमा टोपी लाएर हिंडदा जुनसुकै जात, धर्म र सम्प्रदायका नेपालीहरुले पनि तपाईं नेपाली हो ? कहिले आउनु भयो ? भनि सोध्ने गर्दछन् । यो कर्मभूमीमा पनि नेपालीहरुले टोपीलाई देखेर अपनत्वपन देखाउँदा मन सारै आनन्दित हुने गर्दछ । तर टोपी नलगाएर हिंडेको अवस्थामा मानिसहरुले अनुहार हेरेर कहिले स्पेनिस, कहिले ईण्डियन, कहिले बंगाली आदि जातको मानिस हो भनेर सोध्ने गर्दछन् ।

यो न्युयोर्क शहरमा टोपी लाएर हिंडदा आफ्नो पहिचान बोकेको गर्वानुभूति हुन्छ मलाई । त्यसैले घरमा करिब एक दर्जन जति नेपाली टोपी रहेका छन् । ती मध्ये आफुले किनेका थोरै र मित्रहरुले उपहार स्वरुप दिएका बढी छन् । यी उपहार दिनेहरुमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, कवि मित्र गोविन्द गिरी प्रेरणा, माननीय उपेन्द्रकेशरी न्यौपाने, प्रा. अम्मराज पन्त, प्रा. धन पण्डित, बिष्णुदादा, र बहिनी भगवती आदि हुनुहुन्छ ।
यस मध्येका केही टोपीहरु न्युयोर्कमा बस्ने नृत्यकार नेपाली राज कपुरलाई पनि दिएको छु, सांस्कृतिक कार्यक्रम देखाउँदा काम लाग्छ भनेर । म प्रायः नेपालीहरुको कार्यक्रममा टोपी लगाएर जाने प्रयास गर्दछु र कार्यक्रममा डा. तारा निरौला लगायतका व्यक्तिहरु अनि जनजाती, भाषाभाषी र क्षेत्रीयताको आधारमा अमेरिकामा पनि आफ्नो छुट्टै पहिचान राख्ने केही मित्रहरुले पनि टोपी लगाएको पाउँदा खुसी लाग्दछ । टोपी लगाएर न्युयोर्क शहरमा हिंडदा नेपाली र भारतीय हितैषीहरुसंग जोडिएका केही प्रसंगहरु छन् जसले एउटा मिठो अनुभुतिको स्मरण गराउँछ ।

एकपटक म म्यानहाटनमा रहेको अदालतमा आफ्नो काम सकी ट्रेनबाट उडसाईड क्वीन्सतिर फर्किरहेको थिएँ एकजनाले दाई नमस्कार,नेपालबाट कहिले आउनु भयो भनेर विनम्रतापूर्वक सोध्नुभयो । मैले भनें, निकै भयो न्युयोर्कमा आएको । त्यसपछि उनले मेरो नाम सोधे । मैले आफ्नो परिचय दिएँ । ‘दाईको नाम त सुनेको थिएँ तर भेट्न सकेको थिइँन’ भने । यसरी टोपीले गर्दा उनको र मेरो नामले मात्र होईन अनुहारले पनि चिनाजानी भयो । होईन भने यसरी चिनजान हुने अवसर कहिले जुर्ने थियो थाहा छैन ।

त्यस्तै अर्कोपटक ट्रेनमा चढेर म्यानहाटनबाट क्वीन्सतिर आउँदै गर्दा दुईजना बाहुन र क्षत्री अनुहार भएका नेपालीहरुले हेरिरहे यो नयाँ नेपाली कहिले नेपालबाट आएको रहेछ भन्ने अनुहारमा जिज्ञासुपन राखेर । मैले पनि नसोधीकन बोल्ने हिम्मत गरिन । अनि अर्को स्टेशनमा म उत्रिदा उनीहरु पनि उत्रिए र सोधे ‘दाई नेपाली हो जस्तो छ नि ?’ मैले ‘हो’ भनें । फेरि सोधे ‘कति भो यता आउनु भएको ? अनि कता जाने हो ?’ अमेरिकामा डेराबाट काम र कामबाट डेरा आउन जमिनमुनिबाट गुड्ने ट्रेनमा चढ्न र उत्रन हतारो हुने मानिसलाई यति बोल्न समय निस्कनु पनि यही टोपीकै कारण बनेको थियो । मैले आफु न्युयोर्कमा बसोबास गर्दै आएको निकै बर्ष भयो अनि आफ्नो नाम बताएपछि दुवैजनाले भने ‘ए तपाईं त वकिल होईन ? नाम त धेरै सुनेका थियौं तर अनुहारले मात्रै नचिनेको हो’। मैले पनि उनीहरुको परिचय लिएँ र एकछिन कुरा गर्दै अगाडी बढ्यौं ।
अर्कोपटक म ट्रेनबाट ज्याक्सनहाईटमा उत्रदै थिएँ एकजना शेर्पा र अर्का राई जातका मानिसहरु भेटें । उनीहरुले पनि मलाई टोपी लगाएको हुँदा एकछिन हेरे । अनि सोधे ‘नमस्कार है दाई ।’ मलाई लाग्यो यिनीहरुले मलाई चिने तर मैले भने चिनेको रहेनछु । मैले सोधें ‘यहाँहरुलाई त मैले चिनिन नि ?’ मेरो प्रश्नको जवाफ नदिईकनै उनीहरुले मलाई प्रतिप्रश्न गरे ‘दाई नेपाल मिशनमा काम गर्नुहुन्छ होईन र ?’ मैले भनें ‘तपाईहरुले टोपी लगाएको देखेर त्यसो भन्नु भएको होला होईन ?’ उनीहरुले हो भने । अनि मैले आफु विनोद रोका भएको परिचय दिएपछि ए तपाई वकिल होईन भने । त्यसपछि मैले पनि उनीहरुको परिचय लिएर त्यहाँबाट छुटिृयौं । त्यस्तै ज्याक्सनहाईटमा रहेको अपनाबजार ग्रोसरीस्टोरमा कुमारजी काम गर्नुहुन्छ । वहाँले पनि टोपी छोडनु हुन्न । म ग्रोसरी किन्न जाँदा वहाँको मद्दत लिन्छु । त्यहाँ काम गर्नेहरुले मलाई कुमारजीलाई देखाईदिदै भन्छन् योर फ्रेण्ड ईज ओभर देयर । अनि वहाँ नभएको बेला नेपालीको साथीभाई हो भन्ने ठान्दछन् मलाई ।

गर्मीको महिनामा न्युयोर्कमा ज्यादै गर्मी हुन्छ त्यसमाथि घामको ताप त छँदैछ टाउकामा । त्यसैले म अदालततिर जाँदा पनि व्यागमा टोपी बोकेरै हिंड्छु । अदालतमा पस्दा भने टोपी लाउँदिन । तर अदालत बाहिर भने खुईलिएको टाउकोलाई घामबाट छोप्न ह्याट भन्दा टोपीनै लगाउने गर्दछु । एकदिन अदालतबाट आफ्ना् ट्रेनस्टप उत्रिएँ । टाउकामा टोपी लाएकै थिएँ । म ट्रेनबाट उत्रिएर आफ्नो निवासतिर हिंड्दै थिएँ । अर्कातिरबाट एकजना व्यक्ति हत्तारिदै ट्रेन चढ्ने दुलोतिर जाँदै थिए । मैले टोपी लगाएको देखेर उनले आफ्नो हिंडाईको वेग रोकेर मलाई हेर्दै अगाडी हिंडन थाले । त्यसपछि अलि पर पुगेपछि ठाडै सोधे नेपाली जस्तो देखिनु हुन्छ नि ? तपाई नेपाली हो ? मैले वहाँलाई हो भनेर जवाफ दिएपछि फेरि सोध्नुभयो कहिले नेपालबाट आउनु भो ? तपाईंको के नाम हो नि ? मैले आफ्नो परिचय दिएँ । त्यसपछि मैले नेपालबाट कहिले आएको प्रश्नको जवाफ नदिंदै उनले मलाई ए तपाईं वकिल फलानो हो ? भन्नुभो । मैले हो भनेपछि उनले रोकिएर भने मेरा परिवारका विरुद्धमा अद्यागमन अदालतमा चलेको मुद्दामा हामीले तपाईंको सेवा लिन चाहेका छौं । त्यसबारेमा कुरा गर्न हामी आउँछौ है भनेर कामै पो दिने प्रस्ताव राख्नु भयो । नभन्दै वहाँ, भाउजु र नानीहरु समेत अफिसमा आउनु भयो । वहाँहरुको भाग्य अनि मेरो सानो सहयोगले अदालतबाट मुद्दा पनि जितियो । नानीहरुले त अमेरिकाको ग्रीनकार्ड पनि पाईसके । वहाँहरुको छोराले, जो सानो छँदै नेपालबाट अमेरिका आएको थियो, मैले टोपी लाएको देखेर नेपालमा रहनु भएको आफ्नो हजुरबाबाको याद आउँछ भन्ने गर्दछ रे आमासँग ।

संयोगले एकपटक मैले अनेसास न्युयोर्कले मनाएको लक्ष्मी जयन्तीको कार्यक्रममा टोपीको साटो मेरा आत्मीय मित्र राजा घलेले एटलाण्टा जाँदा उपहार दिनु भएको ह्याट लाएछु हतारमा हिंड्दा । कार्यक्रममा टोपी लगाउने एकजना डा.तारा निरौलाजी मात्र हुनुहुँदोरहेछ । अनि उहाँले आफ्नो मन्तव्यमा भनेरै छाडनु भयो म बाहेक विनोदजीले पनि कार्यक्रममा टोपी लाएर आउनु हुन्छ भनेको त आज त म एक्लै परेछु । त्यसबेला नेपालमा बाबुरामजी प्रधानमन्त्री हुनुहुन्थ्यो र वहाँले चाईनिज ह्याट लाएको फोटोहरु छापामा देखिन्थे । ताराजीको जवाफमा मैले एउटा साटो टुक्रा लेखेर आफुलाई यसरी प्रतिरक्षा गर्ने प्रयास गरें ।

मैले नेपाली टोपी नलाएकोमा, ताराजीलाई खसखस भयो
कार्यक्रम पछि सोध्नु भो, विनोदजी तपाईंको टोपी कता गयो ?
मैले भनें, नेपाली टोपी लाउँदा पनि सर कहिले बढेन रेट ।
बाबुरामजी प्रधानमन्त्री भएपछि लाउन थाले चाईनीज ह्याट ।।

नेपाली टोपी लाएर न्युयोर्कमा हिंड्दाखेरि कतिपय विदेशीहरुले जिज्ञासावश हेर्ने गर्दछन् नसोधेपनि । कतिपयले वाह, भेरी नाईस्, होयर आर यु फ्रम भनेर सोध्ने पनि गर्दछन् । अनि उनीहरुको जवाफमा आइ एम फ्रम नेपाल, बर्थ प्लेस अफ लर्ड बुद्ध होयर माउण्ट एभरेष्ट ईज लोकेटेड भन्ने गर्दछु । मेरो जवाफ सुनेर कतिपयले नेपाल कहाँ पर्छ भनेर सोध्छन् भने कतिपयले आफु नेपालमा पुगेको, सारै सुन्दर देश छ भन्छन् । अनि कतिपयले माओवादीको समस्या रहेको र कतिपयले राजपरिवारको हत्याको प्रसंग पनि जोड्ने गर्दछन् ।

दिल्ली विश्वविद्यालयका सेवा निवृत्त हिन्दी साहित्य र पुर्वीय दर्शनका प्राध्यापक अनि अल ईण्डिया रेडियोका संस्थापक प्रो. डा. सुरेशकृष्ण शास्त्रीजीले पनि मैले टोपी लगाएको देखेर टोपीको प्रशंसा गर्नुभयो । शास्त्रीजी मेरा एटर्नी मित्र अखिलेशजीका पिता र मिनाक्षीका हजुरबुबा हुनुहुन्छ । मिनाक्षीले त हिमालयन फाउण्डेशन र युसेप नेपाललाई सांस्कृतिक कार्यक्रम अनि केक बेचेर हजारौं डोनेसन पनि गरेकी छिन् । यी तिनै पुस्ताका श्रजकहरुलाई न्युयोर्कमा हुने श्रृजनाका यात्राहरुमा फिचर पोयटस्को रुपमा हामीले सुन्ने मौका पनि पाएका छौं । शास्त्रीजीले भन्नुभो विनोदजी एस्से एक टोपी हमारे लिए भी लादेना नेपाल से । मैले सोधें क्या आप लगाना पसन्द करेंगे ? जवाफमा वहाँले भन्नु भो, ईसिलिए तो आपको कह रहा हुँ। मेरी भावीजी भी बहुत खुस होगी हमको टोपी पहनते देखकर क्यु की वह नेपालगंज से है । मैले वहाँलाई एउटा नेपाली टोपी दिने बाचा गरें । त्यो बाचा यसपाली मेनुका नेपाल जाँदा ल्याईदिएकी हुँदा पुरा भयो । मेरा मित्रका पिताजी टोपी पाएर खुसी हुनुभयो र टोपी लगाउने गर्नुहुन्छ यदाकदा ।

अनि यसैपाली मेनुका नेपालबाट आउँदा मेरा मित्र वरिष्ठ अधिवक्ता रामकुष्ण निरालाजीले आफुले संवैधानिक नियुक्ति पाउँदा लगाउँला भनि किन्नु भएको तयारी दौरासुरुवाल र टोपी नियुक्तिमा गडबढ परेपछि मेनुकालाई दिंदै भनेछन्, भाऊजु यो दौरा सुरुवाल उसैलाई जुरेको रहेछ लगिदिनुहोस् । मैले त्यही दौरा सुरुवाल र टोपी यसपालीको दशैंमा लाएर फोटो खिंचे संवैधानीक नियुक्ति पाउने सम्भावना नै नभएपनि । यही फोटो फेसवुकमा राखेपछि एकजना मित्रले प्रतिक्रिया लेखे नेपालको भ्रष्टाचार विरोधी मन्त्री जस्तो देखिनु भो भनेर । यो पनि हेम सरिता प्रतिष्ठानसंग मेरो नाम पनि जोडिएको भएर होला । मैले त्यसबेला भरखर कालीप्रसाद रिजालजीको मैले के अपराध गरेर मलाई नेताजी भन्नु भो भन्ने कविता पढेको हुँदा त्यसको प्रतिउत्तरमा लेखें मन्त्री भनेर मलाई त्यसरी गाली नगर्नुहोला, कुरो बुझ्नु भएन भने कालीप्रसाद रिजालको कविता सुन्नुहोला अनि वहाँले बाचन गरेको कविताको लिंक पनि राखिदिएँ । https://www.youtube.com/watch?v=qHdRGijryVA

आफ्नो मातृभूमी छोडी परदेशलाई कर्मभूमी बनाएर बसेका हामी नेपालीहरुको पहिचान जाति, सम्प्रदाय, राजनीतिक बिचारधारा र वर्गीयतामा भन्दा भाषा, साहित्य, र संस्कृति जस्ता गहनाहरुले नेपाली भनेर सबैको सामुहिक पहिचान दिने रहेछन् । मैले यी मध्येको हामी प्रवासीलाई एकताको सुत्रमा बाँध्ने र नेपाली संस्कृतिको प्रतिनिधित्व गर्ने टोपी लगाएर हिंड्दा न्युयोर्कको विभाजित नेपाली समाजमा अपनत्वको भाव र विदेशीहरुका बीचमा फलानो जातको भन्दा पनि नेपालीमुलको न्युयोर्कवासी अमेरिकन भएको सिंगो नेपाली पहिचान बनाउन पाउँदा गौरवान्वित हुन्छु । http://globenepal.com/2013-04-26-18-13-45/2456-2013-12-01-17-48-08.html