अध्यागमन कागजात लिखत र कानुन

विनोद रोका

अमेरिकाको अध्यागमन कानूनले प्रदान गर्ने सुविधा पाउन अरुका लागि तयार पारिने लिखतमा लिखत तयार गर्न मद्दत गर्ने व्यक्तिले आफ्नो भुमिका वा नाम उल्लेख नगरेको तथ्य प्रमाणित भएमा ठृलो खालका अपराध अर्थात् फेलोनी अपराध गरेको मानिन्छ । यसरी फेलोनी अभियोगमा दोषी प्रमाणीत भएमा पाँच बर्षसम्मको जेल सजाँय हुने र अमेरिकाको ग्रीनकार्ड भएको व्यक्ति रहेछ भने सो समेत बदर भै देश निष्कासन पनि हुन सक्दछ ।

अमेरिकी अद्यागमन कानूनको Sec 274C(e), 8 USC Sec 1324c(e) ले गरेको व्यवस्था अनुसार लिखत तयार पारिने क्रममा लिखत तयार गर्ने व्यक्तिले पारिश्रमिक लिई वा अन्य कुनै प्रकारको सेवा वा सुविधा लिई अरुका लागि अद्यागमन कानुनले दिएका सुविधाहरु प्राप्त गर्नका लागि झूठो व्यहोराको निवेदन तयार पारिदिएको लिखतमा जानीबुझी आफ्नो परिचय लुकाएमा, प्रकाशमा ल्याउन नचाहेमा वा ढाकछोप गरेमा पाँच बर्षसम्मको जेल सजाँय हुन सक्दछ ।
आजकाल बजारमा कानुन बमोजिम अमेरिकाको अद्यागमन बिषयमा सल्लाह दिन एवं फाराम लगायतका लिखतहरु तयार पार्न ईजाजत नपाएका अनधिकृत एजेण्टहरु, नोटरी पव्लिक र अन्य यस्तै किसिमका व्यक्तिहरुले,आफ्नो परिचय लुकाई वा नलुकाई अद्यागमनको सुविधा पाउन चाहने व्यक्तिहरुका लागि लिखत तयार पारिदिने गर्दछन् । यस्ता लिखतहरु अंग्रेजी भाषामा तयार पारिने हुँदा जसका लागि तयार पारिने हो निजलाई राम्ररी थाहा हुँदैन । कतिपय अवस्थामा लिखत तयार पार्न मद्दत गर्ने व्यक्तिनै अनभिज्ञ रहन्छन् । किनकि अद्यागमन कानुनले दिएको सुविधा कस्ता व्यक्तिले कुन अवस्थामा कसरी पाउन सक्दछन् भनेर कानुन, नियम, निर्देशिका अनि विभिन्न विवादमा प्रशासकीय निकाय वा अदालततहरुबाट गरिएका निर्णयहरुमा छरिएका हुन्छन् । जुन एउटा दक्ष ईजाजत प्राप्त वकिलले मात्र गर्न सक्दछ किनकि अमेरिकामा अद्यागमन कानूनलाई अन्य विधा भन्दा बढी जटिल मानिन्छ । त्यसैले अमेरिकी अद्यागमन कानुनले प्रदान गरेका सुविधा पाउनका लागि अंग्रेजी भाषाको ज्ञान हुनु र तोकिएका फारामहरु भर्नु मात्र प्रर्याप्त हुँदैन ।

तथाकथित् अनधिकृत व्यक्तिहरुले अमेरिकाको अद्यागमन कानुनले प्रदान गर्ने सुविधा पाउनका लागि भरखरै आएका अनभिज्ञ व्यक्तिहरु एवं अमेरिकामा नै बर्षौदेखि बसिरहेका तर कानुन बमोजिम पाउनुपर्ने लिखत पाउन नसकेका व्यक्तिहरुबाट मोटो रकम लिई गलत बाटो देखाएर झूठो व्यहोराको लिखत तयार पारिदिने र आफ्नो परिचय भने लुकाउने काम गर्दछन् । जसले गर्दा रकम लिएर अद्यागमनको सुविधा पाउने महासागरमा धकेलिदिएको व्यक्ति पार पाए फेरि बक्स्यौनी माग्ने र डुबेमा आफु चोखो रहने दाउमा रहन्छन् । तथापि यस्ता व्यक्तिहरुको पहुँच समाजका विभिन्न तह र तप्कामा रहने अनि समाजमा बालुवा भएर पनि हलुवा जस्तै रुप देखाउन सक्ने हुँदा अद्यागमनको सुविधा दिलाउने आफु मात्र सक्षम रहेको भान सर्वसाधारणमा पार्न सक्दछन् ।

अनधिकृत व्यक्तिहरुले दिएको सल्लाह, सुझाव एवं तयार पारिदिएको लिखतबाट नराम्रो परिणाम निस्किएपछि जब व्यक्ति देश निष्कासनको मुद्दा लागेर जेल वा अद्यागमन अदालत समक्ष पुग्दछ अनि उसले चिताउँदै नचिताएको दुःखको भुँमरीमा परेको अनुभव गर्र्दछ । आफ्ना कागज र दुखेसो बोकेर वकिलको कार्यालय समक्ष पुग्दा जव वकिलबाट मुद्दामा रहेको जटिल कानुनी प्रश्न अनि त्यसमा लाग्ने खर्चको आँकडा र त्यसको परिणाम सुन्दा नराम्ररी ढुंगामा पछारिन्छ । सुरुमा मद्दत गर्ने कथित एजेण्टलाई सराप्न पुग्दछ । तर यसबेलासम्म एजेण्ट मोटो रकम लिएर बेपत्ता भै सकेको हुन्छ वा अगाडी नै भएको भएपनि निजका विरुद्धमा उजुर गर्न डराउँदछ आफनो निरीहपन देखेर । किनकि समाजमा त्यस्तै व्यक्तिको बोलवाला रहेको हुन्छ ।

अनधिकृत रुपबाट अद्यागमनको सुविधा दिलाईदिने लोभमा झूठो व्यहोराको निवेदन दिन मद्दत गर्ने व्यक्तिलाई पीडित पक्षले सम्वन्धित निकाय समक्ष उजुरी दिएमा त्यस्ता व्यक्तिले पाँच वर्षसम्मको जेल सजाँय पाउने र त्यस्ता व्यक्ति अमेरिकामा काम गर्ने र अस्थायी रुपबाट बसोबास गर्ने वा अमेरिकाको ग्रीनकार्ड होल्डर भएमा सो समेत बदर भै देश निष्कासन हुन सक्दछन् । अतः यस्तो अनधिकृत रुपबाट झूठो सेवा प्रदान गरी पीडित पारिएका व्यक्तिहरुले सहास जुटाई सम्वन्धित निकाय वा आफु बसोबास गरेको राज्यका राज्यपाल अर्थात गभर्नरको कार्यालय समक्ष उजुर बाजुर गर्ने गरेमा आफु र अरुलाई पनि भविष्यमा यस्ता फटाहा व्यक्तिहरुबाट जोगाउन सकिन्छ ।

(बिनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एटर्नी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूयोर्क ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ । हाम्रो कानुनी सेवाप्रति तपाईंको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ । तपाईको अमेरिकी अद्यागमन र न्यूयोर्क राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निःशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com र www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ ।)