परीक्षणकालीन ग्रीनकार्डको व्यवस्था

विनोद रोका, एटर्नी एट

हाल सिनेट समक्ष बिचाराधिन रहेको सुधारात्मक अप्रवासी विधेयक The Border Security, Economic Opportunity, and Immigration Modernization Act,” or S. 744, २०१३ ले अमेरिकामा डिसेम्वर ३१, २०११ भित्र आएका र स्टाटस नभएका आप्रवासीहरुलाई परीक्षणकालको ग्रीनकार्ड अर्थात् Registered Provisional Immigrant(RPI) को हैसियत प्रदान गर्ने प्रावधान पनि राखेको छ । यो सुविधा प्राप्त गर्नका लागि आप्रवासीले यसका अतिरिक्त कुनै फेलोनी अपराध जसमा १ बर्ष वा सो भन्दा बढी सजाय हुन्छ, नपाएको वा तीन भन्दा बढी  misdemeanors,  अर्थात १ बर्ष भन्दा कम सजाय हुने विज्याई नगरेको, निर्धारण गरिएको कर तिरेको, कुनै अपराधिक गतिविधिमा संलग्न नभएको अनुसन्धानबाट देखिएको, तोकिएको जरिवाना तिरेको, र अन्य शर्तहरु पुरा गरेको हुनु पर्दछ ।

यसका साथै व्यक्ति प्रचलनमा रहेको कानुन अनुसार अमेरिकामा एडमिशन हुन सक्ने पनि हुनु पर्दछ । जस अनुसार अमेरिकामा केही तोकिएका अन्य अपराधहरु नगरेको, कुनै पनि आतंकवादी गतिविधिमा संलग्न नरहेको र अरु निषेधित कार्यमा नलागेको हुनु पर्दछ ।

परीक्षणकालको लागि अमेरिकामा बसोबास गर्ने अनुमति पाएको आप्रवासीका श्रीमान, श्रीमती र २१ बर्ष ननाघेका छोराछोरीहरुले पनि यो सुविधा पाउन सक्दछन् । तर यो श्रेणीको स्टाटस पाउने आप्रवासीले संघीय अमेरिकी सरकारबाट प्रदान गरिने सार्वजनिक सुविधाहरु जस्तो मेडिकेड, फुडस्टयाम्प, र ओबामा हेल्थ केयर एक्टले प्रदान गर्ने सुविधाहरु भने पाउन सक्दैनन् ।

यो परीक्षणकालको ग्रीनकार्डको सुविधा पाउने व्यक्तिलाई अमेरिकामा पस्न र बस्न नपाउने ३ र १० बर्षे प्रतिवन्ध लाग्दैन । जुन अन्य अवस्थामा लाग्न सक्दछ । जस्तो अमेरिकामा १८० दिनभन्दा बढी र १ बर्षभन्दा कम समयसम्म ओभर स्टे भएको आप्रवासीले ३ बर्षसम्म र १ बर्षभन्दा बढी समय ओभर स्टे भएमा अमेरिकामा १० बर्षसम्म आफ्नो स्टाटस एडजस्ट गर्न सक्दैन । यो सुविधा प्रदान गर्ने क्रममा अद्यागमन अदालतका न्यायाधिशलाई कतिपय सामान्य आपराधिक विज्याई गरेका आप्रवासीलाई मानवीयता, पारिवारिक मिलन तथा सार्वजनिक हितका लागि मुद्दाको प्रकृति हेरेर छुट दिन पाउने अधिकार पनि प्रदान गरेको छ । सामान्यतया अमेरिकाबाट निष्काशित भैसकेको आप्रवासी फेरि अमेरिका प्रवेश गर्ने अनुमति पाउँदैनन् तर यस विधेयकले त्यस्ता निष्काशित व्यक्तिहरुले अन्य व्यवस्थाका अतिरिक्त अमेरिकामा आफ्ना नजिकका नातेदारहरु अमेरिकी नागरिक वा ग्रीनकार्डहोल्डर छन् भन्ने प्रमाणित गरेमा पुनः अमेरिकामा स्टाटससहित पस्न र बस्न पाउने व्यवस्था गरिएको छ ।

कहिले लागु हुन्छ अनि कसरी पाईन्छ ? 

यो S. 744 विधेयक सिनेट र काग्रेसबाट पारित भै राष्ट्रपतिबाट स्वीकृत भएपछि पनि तत्कालै लागु हुँदैन । यो विधेयकले सरकारलाई कार्यक्रम लागु गर्नुपर्दा आवश्यक पर्ने नियम तर्जुमा गरी प्रकाशन गर्नका लागि एक बर्षको समय प्रदान गरेको छ । यो नियम सरकारले सुचना प्रकाशन गरेको मितिबाट सामान्यतया १ बर्षसम्म चल्दछ । साथै यसपछि पनि अद्यागमन विभागले आवश्यक देखेमा १८ महिनासम्मको समय थप गर्न सक्छ र यो समय समाप्त भएपछि मात्र आधिकारिक रुपबाट निवेदन लिने प्रकृया सुरु हुन सक्ने हुन्छ । तर यो विधेयकले परीक्षणकालको ग्रीनकार्ड पाउने सम्भावना रहेका आप्रवासीहरुलाई अमेरिकाबाट निष्काशन गर्नबाट भने रोकेको छ । यद्यपि अपराध गरे वापत अदालतबाट दोषी प्रमाणित भएका र यो सुविधा पाउन अयोग्य देखिएका आप्रवासीहरुका हकमा भने अद्यागमन विभागले देश निष्काशनको मुद्दा अदालत समक्ष चलाउन सक्दछ ।

यो परीक्षणकालको ग्रीनकार्ड अमेरिका बस्ने आप्रवासीलाई पहिलोपटक ६ बर्षका लागि दिईन्छ जुन अर्को ६ बर्षका लागि नविकरण गर्न सकिन्छ । यसको लागि आप्रवासीले लगातार काम गरिरहेको वा आफ्नो आम्दानी वा श्रोत संघीय सरकारले तोकेको गरीबीको मापदण्ड (प्रोभर्टीगाईड लाईन)को आम्दानीको १०० प्रतिशत भन्दा कम नभएको वा तोकिएको अपवाद भित्र परेको तथ्य प्रमाणित गर्नु पर्दछ । यसका अतिरिक्त तोकिएका अन्य प्रकृया र background check  गराई, कर अनि जरिवाना पनि तिर्नुपर्छ ।

यो परीक्षणकालीन अमेरिकामा बस्न पाउने कागज पाएको मितिले कम्तीमा पनि १० बर्षसम्म ग्रीनकार्ड पाउने लाईनमा बस्नुपर्छ पालो कुरेर जबसम्म यो ऐन लागु हुनुभन्दा अगाडि ग्रीनकार्डको लागि निवेदन हालेको आप्रवासीहरुले ग्रीनकार्ड पाउँदैनन् । यसका लागि पनि परीक्षणकालीन कागज पाउने आप्रवासीले आफ्नो परीक्षणकालीन स्टाटसलाई सुरक्षित राख्नु पर्दछ र  कर तिरिरहेको हुनुपर्छ, अंग्रेजी भाषाको दक्षता रहेको देखाउन सक्नुपर्छ, काम गरिरहेको वा आम्दानीको श्रोत रहेको, सरकारद्धारा प्रदान गरिने सुविधा लिन नपर्ने अवस्थामा रहेको, कुनै अपराधिक कार्य नगरेको अनि तोकिएको अतिरिक्त जरिवाना तिरेको हुनु पर्दछ ।

परीक्षणकालीन कागज पाउने आप्रवासी अमेरीकाको नागरिकता पाउनका लागि ग्रीनकार्ड पाउनु भन्दा १० बर्षदेखि अमेरिकामा कानुन बमोजिम बसोबास गरी विगत ३ बर्ष अगाडी अमेरीकाको ग्रीनकार्ड पाएको तथ्य प्रमाणित गर्नु पर्दछ। अर्को अर्थमा भन्नु पर्दा परीक्षणकालीन रुपबाट अमेरिकामा बसोवास गर्ने अनुमति पाएको आप्रवासीले अमेरिकाको नागरिक हुनका लागि १३ बर्षसम्म पर्खनु पर्दछ। यद्यपि नागरिकता पाउनु भन्दा अगाडी त्यसका लागि आवश्यक  पर्ने प्रचलित कानुनले तोकेका प्रकृयाहरु भने पुरयाउनु पर्दछ।

परीक्षणकालीन बसोबासको कागज पाउनका लागि आप्रवासीले background checks and security measures का प्रकृयाहरु पुरा गर्नुपर्दछ । त्यसका लागि आप्रवासीले अद्यागमन विभागलाई biographic and biometric data (fingerprints) उपलव्ध गराउनु पर्दछ  national security and law-enforcement checks गर्नका लागि । यसरी आप्रवासीले अमेरिकाको नागरिकता प्राप्त नगरुन्जेलसम्म राष्ट्रिय सुरक्षा र आपराधिक गतिविधिमा संलग्न नरहेको कुरा प्रमाणित गरिरहनु पर्दछ ।

नावालक अवस्थामा अमेरिकामा आएका कागजविहीन आप्रवासीहरु जो DREAM एक्ट आएको भए अमेरिकामा बसोवास गर्ने कागज पाउन सक्दथे, का लागि भने यो विधेयकले विशेष व्यवस्था गरेको छ । जस अनुसार उनीहरुले अस्थायी बसोवासको कागज अरु आप्रवासीहरु सरह नै पाउने भएता पनि अमेरिकाको ग्रीनकार्ड पाउनका लागि भने उनीहरुले केवल ५ बर्षमात्र पर्खे पुग्छ । त्यसको लागि उनीहरुले प्रमाणित गर्नुपर्छ कि अमेरिकामा प्रवेश गर्दा उनीहरुको उमेर १६ बर्ष मुनिको थियो, कम्तीमा ५ बर्ष  RPI स्टाटसमा रहेको, अमेरिकामा हाईस्कुल डिप्लोमा वा जिईडी पाएको, २ बर्षको कलेज डिग्री वा ४ बर्षसम्म सैनिक सेवामा काम गरेको, अंग्रेजी भाषाको दक्षता सम्बन्धि परीक्षा उत्तिर्ण गरेको लगायत अन्य तोकिएका मापदण्डहरु पुरा गरेको हुनु पर्दछ । यसरी ग्रीनकार्ड पाउने वित्तिकै DREAMers ले अमेरिकी नागरिकताको लागि निवेदन दिन सक्दछन् ।

यो विधेयक अमेरिकी सिनेटमा छलफल भै जुलाई ४ को विदा सुरु हुनु भन्दा अगाडी नै मतदानमा जानसक्ने अनुमान गरिएको छ । यद्यपि विधेयक पारित हुन सिनेटको ५१ मत नै प्रयाप्त भएता पनि पुरातन विचार राख्ने सिनेटरहरुले यसलाई मतदानमा जानु भन्दा अगाडी छलफलको लागि पर्याप्त समय दिईनु पर्दछ भनि ६० मत पाउनु पर्ने क्लोटर “cloture” लगाउन सक्दछन् । यसो भएको खण्डमा यो विधेयक  DREAM Act झैं तुहिन सक्दैन भन्न सकिदैन । यदि यो विधेयक सिनेटबाट पारित भएको खण्डमा पनि Members of the House (कंग्रेस) जहाँ रिपव्लिकनहरुको बहुमत छ, ले हुवहु यसैलाई पारित नगर्न सक्दछ । यदि त्यहाँबाट पृथक किसिमको विधेयक पारित भएमा पुनः सिनेट र हाउसका सदस्यहरु रहेको संयुक्त समितिबाट एउटा सहमतिको विधेयक तयार भै राष्ट्रपति समक्ष स्वीकृतीका लागि जान सक्ने हुन्छ । अतः यो S. 744  विधेयकलाई पारित गरियोस् भनि आ आफ्ना क्षेत्रका सिनेटर र कांग्रेसम्यानहरुलाई फोन वा ईमेल गरेर आवाज पुर्याउनु सबै आप्रवासी र आप्रवासीहरुलाई सम्मान गर्ने तमाम अमेरिकीहरुको कर्तव्य हो । यसका साथै अहिले देखि नै आफु अमेरीकामा माथि तोकिएको समय अगाडी आएको र त्यसपछि पनि लगातार यहीं बसोबास गरिरहेको भरपर्दो प्रमाण जुटाउन थाल्नु अति आवश्यक छ किनकि त्यो प्रमाण भएन भने यो ऐन आएर पनि तपाईले सुविधा पाउन सक्नुहुन्न ।

 (बिनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट को रुपमा मान्यता प्राप्त वकिल अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येयहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

 (तपाईको अमेरीकी अद्यागमन र न्यूयोर्क राज्यको कानुनसम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत नि:शुल्क कानुनी सल्लाहको लागि बिनोद रोका, एर्टनी एट ललाई उहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।)