बृहत अध्यागमन सुधार बिल

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क
binod_roka_small

राष्ट्रपति बाराक ओबामाले आफ्नो दोश्रो कार्यकालको सुरुवातमै विद्यमान अमेरिकी अद्यागमन कानूनमा आमूल सुधारको घोषणा गरेका थिए । विद्यमान अमेरिकी अद्यागमन कानुनमा संशोधन गरी अमेरिकामा हाल कागजबिना बसोवास गरिरहेका एघार मिलियन भन्दा बढी अर्थात एक करोड दश लाख भन्दा बढी आप्रवासीहरुलाई सरकारलाई तोकिएको कर तिरी आपराधिक गतिविधिमा संलग्न नभएको पाईएमा अमेरिकामा स्थायी रुपले बसोवास गर्न दिई नागरिक हुने पाउने अधिकार समेत प्रदान गर्ने, विज्ञान र प्रविधि (STEM) मा अमेरिकी विश्वविद्यालयबाट माष्टर डिग्री हासिल गरेका आप्रवासीहरुलाई स्थायी बसोवासको व्यवस्था गर्ने, अस्थायी कामदारहरु सम्वन्धि व्यवस्था गर्ने र अमेरिकामा गैरकानूनी रुपबाट प्रवेश गर्ने नाकाहरुलाई बढी सुरक्षित बनाउने दृढता जनाउँदै संसद र सिनेटले मार्च महिनासम्ममा विल छलफलमा नल्याएमा आफैंले तयार पारेको विललाई छलफलमा ल्याउने जानकारी पनि दिएका थिए ।

यसपछि अमेरिकी सिनेटले रिपव्लिकन र डेमोक्र्याट ४-४ जना गरी जम्मा ८ जना सिनेटर संलग्न रहेको बाइ पार्टिसन समुहको निर्माण गर्यो । जसमा न्यूयोर्क राज्यबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याट सिनेटर चार्ल्स सुमर अगाडि छन् । यो आठजना सिनेटरहरुको समुह धेरै बुँदाहरुमा सहमतिमा पुगेको समाचार प्रकाशमा आएको छ । जस अनुसार अनधिकृत रुपबाट अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुले ग्रीनकार्ड पाउनका लागि १० बर्ष पर्खनु पर्ने, यो अवधिमा यस्ता आप्रवासीहरुले परीक्षणको रुपमा अमेरिकामा बसोबास एवं काम गर्न पाऊने, ग्रीनकार्ड पाउनका लागि आफ्नो देशमा फर्किएर जानु नपर्ने र ग्रीनकार्ड पाएको ३ बर्ष पछि अमेरिकाको नागरिकता पाउँ भनि निवेदन दिन पाउने छन् । यद्यपि अहिले भै रहेको कानुनी व्यवस्था अनुसार अधिकांश ग्रीनकार्ड होल्डरहरुले नागरिकता पाउनका लागि ५ बर्ष पर्खनु पर्दछ । त्यस्तै यो समुहले ईभेरीफिकेशन प्रमाणालीलाई स्वेच्छिकबाट अनिवार्य गरिनु पर्ने र विज्ञान र प्रविधि (STEM) मा स्नातकोत्तर तह उत्तीर्ण गरेकालाई ग्रीनकार्ड र पारिवारिक ग्रीनकार्डको हाल भै रहेको व्यवस्थालाई साँघुरो पारिनु पर्ने व्यवस्था रहने छ । यसरी तर आप्रवासीहरुलाई ग्रीनकार्ड दिनुभन्दा अगाडी भने बोर्डर सुरक्षित पारिनुपर्नेछ ।

यो सहमतिको विल सिनेटमा अप्रिल महिनामा पेश गरिनुपर्ने भनिएको भएता पनि हालसम्म यो आठजनाको समुहले सहमतिको विल तयार पारिसकेको छैन । पहिले रिपव्लिकनहरुले यस्तो विलमा आपत्ति जनाएका भएता पनि यसपालीको राष्ट्रपतिको निर्वाचनमा यही आप्रवासीको समस्यालाई उचित रुपबाट संवोधन गर्नुको सट्टा देश निष्कासन गरिनुपर्ने अडान राखेको हुँदा पराजित हुनु परेको तीतो यथार्थलाई महसुस गरी राष्ट्रपति ओबामाले सारेको समाधानको सूत्रलाई रिपव्लिकनहरुले पनि समर्थन गर्न सक्ने सम्भावना बढेको छ । त्यसैले भनिन्छ यसपाली पनि यो बिल पास नभए कहिले पनि हुँदैन ।

यो सहमतिको विल प्रतिज्ञा गरे अनुसार समयमै आठजना सिनेटरहरुको समुह जसलाई ग्यांग अफ यट भनेर पनि सम्वोधन गरिन्छ, ले सिनेट समक्ष पेश नगरेकोमा असुन्तुष्टि जनाउँदै आप्रावासीहरुको अधिकारको बारेमा सरोकार राख्ने एक समुहले भरखरै न्यूयोर्कबाट प्रतिनिधित्व गर्ने समुहका अग्रणी नेता सिनेटर सुमरलाई भेटी मार्च महिना भित्र विल तयार पार्ने बचन तोडिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । त्यसैगरी सिनेट जुडिसियरिका सभापति डेमोक्र्याट सिनेटर पेट्रिक लेहीले पनि सिनेटरहरुको समुहले मार्च महिना भित्रमा विल पेश गरेमा अप्रिल महिनामा कमिटी समक्ष विल उपर छलफल गरी विललाई पूर्णता दिने आफुले आशा गरेता पनि हालसम्म विल नआएको हुँदा त्यसो गर्न नसक्ने अवस्था रहेको धारणा व्यक्त गरेका छन् ।

यसैबीच कमिटीमा रहेका ६ जना रिपव्लिकन सिनेटरहरुले भरखरै लेही र आठजना सिनेटरहरुलाई पत्र लेखी यो विल अति महत्वको रहेको हुँदा छलफलका लागि प्रयाप्त समय दिइनु पर्ने धारणा राखेका छन् । उनीहरुले १९८२ मा जब इमिग्रेशन रिफर्म एण्ड कन्ट्रोल एक्ट आयो त्यतिबेला १०० घण्टा सम्म ३०० जना सरोकार राख्ने व्यक्तिहरुसंग सोधपुछ गरिएको र तीनमहिना सम्म पुनरावलोकन गरिएपछि मात्र अगष्ट १९८५ मा विल तयार भएको तथ्य स्मरण गराएका छन् । यसको पछाडि रिपव्लिकन सिनेटरहरुले विललाई चाडै र सजिलैसंग कमिटीबाट पारित हुन नदिने रणनीति राखेको आशंका पनि गरिएको छ । त्यसैगरी रिपव्लिकनहरुको बहुमत रहेको हाउसले यो समुहले तयार पारेको विलमा सहमति जनाउन पनि सक्छ र नजाउन पनि सक्दछ । यसरी हेर्दा हाउस र सिनेटबाट पारित भै राष्ट्रपति समक्ष विल पुग्न कति समय लाग्ने हो यसै भन्न सकिने स्थिति छैन।

यस्तै किसिमको विल ११० औं अमेरिकी कंग्रेसमा पनि छलफल भएको थियो । (S1348) यसले पनि बिना कागज अमेरिकामा बसिरहेका १ करोड भन्दा बढी विदेशीहरुलाई यहाँ बसोबास गर्न पाउने स्टाटस दिई नागरिकता पाउनेसम्मको बाटो दिने व्यवस्था गरेको थियो । यो बिल अमेरिकी सिनेटमा मे ९, २००७ मा पेश भएको थियो । यसमा संशोधनका लागि धेरै प्रस्ताबहरु ल्यार्ईयो । यस बिललाई अग्राधिकार दिएर मतदानमा ल्याउनका लागि राखिएको प्रस्ताबले सिनेटमा ६० मत प्राप्त गर्न नसक्दा थन्किएर बस्नृ पर्यो ।
यो बिल यसभन्दा अगाडि पारित हृन नसकेका ३ वटा बिलहरुको सहमति रुप थियो । ती हुन् मे २००५ मा प्रस्तावित Mc-Kennedy Bill, Cornyn-Kyl Bill र सिनेटर, Arlen Specter ले ल्याएको बिल (S2611) जुन मे २००६ मा सिनेटबाट पारित भयो तर हाउसबाट पास हुन सकेन । सिआइआर बिल अन्तिम चोटी पूर्व राष्ट्रपति बुसको अनुरोधमा सिनेटमा छलफलका लागि जुन २५, २००७ मा लगियो तर प्रस्ताबको पक्षमा ३५ मत र बिपक्षमा ६४ मत परेको हुँदा अगाडि बढ्न सकेन ।

यही बिललाई राष्ट्रपति ओबामाले २०१० मा पनि पारित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए तर पुरातन बिचार भएका सिनेटर र हाउसका सदस्यहरुले यो बिलको बिरोध गरेको हुँदा पास हुन सकेन । पुनः राष्ट्रपति ओबामाले आफनो दोश्रो कार्यकालमा यस विललाई पारित गराउँछु भनि पहिलो एजेण्डामा राखेका छन् । किनकि कानुनको पालना गरेर बसेका आप्रवासीहरुको महत्व अमेरिकाको चौतर्फी विकासको लागि .अपरिहार्य रहेको हुँदा यो बिल चाँडो पास हुनु पर्दछ भन्ने धारणा अधिकांश अमेरिकीहरुमा रहेको छ ।

अमेरिकी इमिग्रेशन कष्टम इन्फोर्समेन्ट अर्थात आइसले दिएको आँकडा अनुसार सन २०११ मा अमेरिकाको जेलमा ४,२९,२४७ जना आप्रवासीहरु थुनामा रहेका छन् र ती मध्ये आईसको आँकडा अनुसार ४१ प्रतिसत थुनामा रहेका विनाकागज अमेरिकामा बस्ने आप्रवासीहरु अमेरिकाको सार्वजनिक जीवनमा खतरायुक्त नठानिएका र मागेर जाने सम्भावना नरहेका अर्थात् लोअर पोसिवल रिक्सको श्रेणीमा पर्दछन् । यस्ता थुनुवाहरुलाई दिनको १२२ डलरदेखि १६५ डलरसम्म अमेरिकी नागरिकले तिरेको कर खर्च गर्नु पर्दछ । मार्च १९, २०१३ का दिन अमेरिकी अद्यागमन कानून व्यवसायी संघ जसमा कानून व्यवसायी र प्रोफेसर गरी १२,००० हजार सदस्य रहेका छन्, ले सम्वन्धित निकाय समक्ष यस्ता व्यक्तिहरुलाई आइसले धरौटीमा वा अन्य वैकल्पिक व्यवस्थाका आधारमा खोजेका बखत अदालतमा उपस्थित हुने सर्तमा छोडिनु पर्छ भनि अनुरोध गरेको छ ।

यो देश प्रजातान्त्रिक मान्यतामा विश्वास राख्ने भएको हुनाले जसको पक्षमा बढी आवाज वा भोट पर्छ उसैले परिणाम पाउन सक्दछ । तसर्थ १ करोड भन्दा बढी आप्रवासीहरुको अधिकार प्राप्तीका लागि हाम्रो पनि कर्तव्य हुन्छ कि आ आफना राज्यका प्रतिनिधिहरुलाई फोन, ईमेल वा भेटेर बिलको समर्थनमा आवाज पृर्याउनु । सबै प्रतिनिधिहरुलाई २०२ २२४ ३१२१ मा फोन गरेर आफनो आवाज पुर्याउन सकिन्छ । तपाईंले आफ्नो आवाज पुर्याउन स्टाटस नभनि आफनो र बसोबास गरिहेको राज्यको नाम मात्र खुलाउनृ सक्नुहुन्छ ।
न्यूयोर्कबाट प्रतिनिधित्व गर्ने सिनेटर चार्ल्स सुमरले बिलमा समाबेश गरिनुपर्ने प्रावधानमा काम गरिरहेका छन् । अतः यो बिललाई २०१३ मा पास गराउनका लागि हप्तामा एकचोटी आफ्ना प्रतिनिधिहरुलाई फोन गरेर बिल पारित हुनुपर्छ भनि आफ्नो आवाज पुरयाउनुहोस् । न्यूयोर्कबाट प्रतिनिधित्व गर्ने सिनेटर सुमरको नम्बर हो २०२ २२४ ६५४२ डीसी, २१२ ४८६ ४४३० न्यूयोर्क ।

 

(बिनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एटर्नी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूयोर्क ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ । हाम्रो कानुनी सेवाप्रति यहाँको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ । तपाईंहरुलाई अगाडिको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन । यहाँलाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छअ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन । कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईको अमेरिकी अद्यागमन र न्यूयोर्क राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निःशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ ।