अमेरिकामा शरणार्थीको दर्जा कसरी पाउने?

बिनोद रोका, एटर्नी एट ल

अमेरिकी कानुन अनुसार अमेरिकामा शरणार्थीको दर्जा (स्टाटस) पाउनको लागि तपाईंले सर्वप्रथमतः आफ्नो देशको नागरिक भएको र त्यहाँ रहँदाको अवस्थामा तपाईलाई शारिरीक, मानसिक वा आर्थिक रुपमा सरकार वा सरकारले देशभर नियन्त्रण गर्न नसकेको शक्ति वा समुहबाट दु:ख,यातना पाई आफ्नो देशका कुनै पनि भागमा सुरक्षित रुपबाट बस्न नसकेको अनि विश्वको अन्य कुनै पनि देशमा स्थायी रुपबाट बसोवास गर्ने अनुमति नपाएको र हाल अमेरिकामा रहेको कुरालाई पुष्टि गराउन सक्नुपर्दछ । तर तपाईंले पाएको दुःख यातना भने जात,धर्म, राष्ट्रियता, राजनैतिक बिचारधारा, कुनै खास सामाजिक समुहको सदस्यता जस्तो कुनै राजनैतिक पार्टी, पत्रकार, कलाकार, मानवाधिकार, जाति वा यस्तै अन्य समुहहरु जसको पहिचान त्यो देशमा छ, मध्ये कुनै एउटासंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपले जोडिएकै हुनुपर्छ । यदि छैन भने तपाईंले शरणार्थीको सुविधा पाउन सक्नु हुने छैन ।

तपाईंले दिनु भएको निवेदनमा झुठा व्यहोरा लेखिएको हुनुहुँदैन । यदि लेखिएको तथ्य न्यायकर्ताले गलत रहेको ठहर गरेमा तपाईले अमेरिकी अध्यागमन कानुन अनुसार पाउने कुनै पनि सुविधा जीवनभरि पाउन सक्नुहुन्न। सामन्यतया तपाईं अमेरिका आउनु भएको १ बर्षभित्र शरणार्थीको लागि निबेदन दिनुपर्दछ । तर आफ्नो भिषालाई निरन्तरता दिईरहेका व्यक्तिहरु, जस्तो एफ वनमा रहेका विद्यार्थी, काम गर्ने भिषा पाएका व्यक्तिहरु र यस्तै अन्य अस्थायी प्रकृतिका भिषाहरुमा रहेकाले भने आफनो भिषा सकिएको मितिबाट न्यायोचित समयभित्रै निवेदन दिएको अवस्थामा यो एक बर्षको समयावधि लाग्दैन । यसका अतिरिक्त देशमा भरखरै आएको असाधारण किसिमको परिवर्तनको कारणबाट १ बर्ष पछि निवेदन दिनु परेको अवस्था देखाउन सकिएमा पनि यो १ बर्षको म्यादलाई न्यायकर्ताले माफी दिन सक्दछन् । तर थाहा नभएको कारणले १ बर्ष भित्र निवेदन दिन नसकेको तर्क भने यसमा लागु हुँदैन।
यातना विरुद्धको सन्धि Convention Against Torture (CAT) अन्तर्गतको सुविधा पाउनका लागि भने १ बर्ष पछाडी पनि निबेदन दिन सकिन्छ । यातना सम्वन्धि कानुन (CAT) अन्तर्गतको सुविधा पाउनका लगि भने तपाईंले सरकारी पदाधिकारी वा निजहरुले संरक्षण पाएका व्यक्तिले देश फर्किएको खण्डमा शारिरीक एवं मानसिक यातना दिने प्रवल सम्भावना रहेको तथ्य प्रमाणित गर्नुपर्दछ ।

यातना विरुद्धको सन्धि (CAT) अमेरिकी कानुन अनुसार देश निष्कासनको आदेश गरी तत्काल तपार्इं आफ्नो देशमा फर्कदा विद्यमान सरकार वा सरकारद्धारा संरक्षित व्यक्ति वा समुहबाट शारिरीक यातना हुन सक्ने हुँदा त्यहाँको अवस्थामा परिवर्तन नहुँदासम्मका लागि मात्र अमेरिकामा बस्न र काम गर्न पाउने गरी विथहोल्डिगको सुविधा दिइएको अवस्थामा भने तपाईंले अमेरिकाको ग्रीनकार्ड पाउन र आफ्ना नजिकका नातेदारहरुलाई अमेरिकामा ल्याउन सक्नुहुन्न ।

अमेरिकी कानुन अनुसार शरणार्थीको सुविधा पाउनका लागि तपाईंले कुनै जोखिमी अपराध गरेको वा आतंकवादी समुहलाई स्वेच्छाले वा करकापमा परी कुनै पनि प्रकारको मेटरियल सपोर्ट दिएको पाइएमा तपाईंले अमेरिकामा शरणार्थीको हैसियत पाउन सक्नुहुन्न । यस्तो मेटरियल सहयोगमा आर्थिक,बसोबास, खानपिन, ओसारपसार, सुचना आदानप्रदान, लगायतका धेरै कुरा पर्न सक्दछन् । नेपालको माओवादीलाई अमेरिकी सरकारले हालसालै आतंकवादीको सूचीबाट हटाए पनि विगतमा त्यो पार्टीलाई डर, त्रास र ज्यानको सुरक्षाका लागि कुनै किसिमको सहयोग दिएको देखिएमा अमेरिकीमा शरणार्थीको सुविधा पाउन सामान्यतया सकिदैन । त्यस्तै यस्तो सहयोग सरकारका विरुद्धमा हातहतियार उठाई विद्रोहमा उत्रिएका तर अमेरिकी सरकारले आतंकवादीको सूचीमा नराखेका असुचीकृत अन्य आतंकवादी समुहहरु पनि पर्दछन् ।

न्यायकर्ताले कुनै विदेशीलाई शरणार्थीको दर्जा वा स्टाटस दिंदा मुख्यरुपमा निजले लेखेको घटनाको विवरण र निजले न्यायकर्ता समक्ष उपस्थित भै दिएको बयानमा कत्तिको विश्वसनीयता र समरुपता छ र निवेदकले घटनाको विवरण उल्लेख गर्दा उसको हाउभाउ आदिमा त्यसको झलक पाईन्छ कि पाईदैन भन्ने कुरालाई महत्व दिन्छन् । निवेदकले पेश गरेका सवुद प्रमाणहरुको बारेमा त्यसपछि मात्र बिचार हुन सक्दछ | किनकि निवेदकले विश्वासिलो रुपबाट आफुलाई घटेको घटना मिलाएर भन्न सकेन भने अरु मुलुकमा रहेका व्यक्ति वा अधिकारी, जसलाई न्यायकर्ता र अर्को पक्षको वकिलले सोधपुछ गर्न सक्दैन, ले दिएका वा पठाइएका भनिएका कथित अप्रमाणिक कागजहरुले कुनै मद्दत गर्न सक्दैन । त्यसैले निवेदकले आफ्नो भएको यथार्थ घटना के हो त्यो पहिले तयार गरेर आफुसंग भएका सम्वद्ध कागजातहरु ल्याउन पर्दछ यदि छन भने । यस्ता प्रमाण पनि छैनन् भने घटना देख्ने तथा थाहा पाउने व्यक्तिहरुबाट आफ्नो कुरालाई समर्थन गर्ने साँचो व्यहोराका वयान कागजहरु लेख्न अनुरोध गरी हुलाक मार्फत मगाउनु पर्दछ । यद्यपि यस्ता कागजहरुको प्रमाणिक महत्व भने निवेदकले दिएको वयान चित्त बुझ्दो र विश्वसनीय न्यायकर्तालाई लाग्यो भने मात्र पत्यारिला रहेछन् भन्ने हो । यदि निवेदकको बयान विश्वसनीय र भरपर्दो पाइएन भने निवेदकले पेश गरेका कागजातहरुले निवेदकलाई नै झुठा ठहर गर्दछन् । अर्थात आफ्नै हतियार आफैं माथि आइलाग्छ ।
तसर्थ तपाईंले शरणार्थीको निवेदन दिनुपर्दा आफुले दुःख वा यातना पाएको कथा वा व्यथा आफैंले पहिला टिपेर कानुन व्यवसायी समक्ष जानु भयो भने तपाईंको वयान तयार पार्न र पछि अन्तर्वार्ताको समयमा सोधपुछ गर्दा न्यायकर्तालाई भन्न सहज हुन्छ र न्यायकर्तालाई तपाईंको बयान विश्वासिलो र भरपर्दो लाग्न सक्दछ । तपाईंले आफुले होमवर्क नगरी आफ्नो कथा वा व्यथा लेख्न कथाकार खोज्न थाल्नु भयो भने कार्वाहीको प्रकृया सारै दुःखदायी हुन सक्छ किनकि परिणाम भोग्ने तपार्इं हो कथाकार होईन ।

त्यसैले माथिका आधारहरुलाई ध्यानमा राखेर आफ्नो घटनाको सम्वन्धमा तपाईंले निम्नलिखित प्रश्नहरुको उत्तर लेख्न थाल्नुहोस् । तपाईं, तपार्इंको परिवार, नजिकको साथीभाई कसैले सरकार वा बिद्रोही समुहबाट वितेका समयमा कुनै नोक्सानी, यातना, दुब्र्यबहार अथवा धम्की पाएको थियो कि थिएन ? यदि थियो भने के भयो ? कहिले यस्तो घटना भया ?, त्यस्तो गर्ने को थियो ? तपाईंको बिचारमा त्यस्तो गरिनुको कारण के थियो ? तपाई कुनै संस्था वा राजनैतिक पार्टीको सदस्यता हुनु हुन्थ्यो कि ? यदि हुनुहुन्थ्यो भने कुन संस्था वा पार्टीको सदस्य हुनुहुन्थ्यो ? कहिले सदस्यता लिनुभयो ?
किन सदस्य बन्नुभयो ? कुनै पदमा हुनुहुन्थ्यो कि ? के तपाइं नेपाल फर्कन अझै डराउनु हुन्छ ? यदि डराउनु हुन्छ भने कोबाट ? कस्तो हानि, यातना वा दुब्र्यबहार होला भनेर डराउनु हुन्छ ? तपाईं वा तपाईंको परिवारको सदस्य कहिले पक्राउ पर्नु भएको ? थुनिनु भएको ? वा अपराध गरे बापत जेल सजाय भोग्नु भएको छ ? वा छैन ? छ भने उल्लेख गर्नुहोस् ।

तपाईं वा तपाईंको परिवारका कुनै सदस्य कहिल्यै कुनै संघ, सस्था, राजनैतिक पार्टी, विद्यार्थी संगठन, धार्मिक संगठन, बिद्रोही समुह, मानबाधिकार संगठन वा कुनै संस्थाको सदस्य हुनु भएको थियो ? यदि थियो भने कुन संस्थाको ? कहिले ? कुन पद ? कति समयसम्म ? र के के गर्नु भयो ? तपाईं वा तपाईंका परिवारका सदस्यहरु भबिष्यमा पनि यस्तो संघ, संस्थाका सदस्य भई यस्तो कार्यमा संलग्न हुनुहुन्छ कि हुनुहुन्न ? यदि संलग्न बन्नुहुनेछ भने अहिले के गर्दै हुनुहुन्छ ? कुन हैसियत छ ? कहिलेदेखि ? के तपाई आफ्नो देश वा जहाँ तपाई अमेरिका आउनु भन्दा अघि बस्नु हुन्थ्यो,फर्किनु भएको खण्डमा यातना पाउँछु भन्ने डर लाग्छ ? यदि लाग्छ भने को बाट ? किन ? र कसरी ? के तपाईंको परिवारको सदस्यले अमेरिकामा ग्रीनकार्ड वा एजाईलमका सुविधा पाउनु भएको छ ? छ भने कसले ? कहिले ? तपाईंले वा तपाईंको परिवारका सदस्यले अरुलाई यातना वा दुःख दिने कार्य बिगतमा गर्नु भएको छ ? छ भने उल्लेख गर्नुहोस् । अमेरिका आई सकेपछि तपाई आफ्नो देश, जुन देशमा तपाईं यातना पाएँ भन्नुहुन्छ, त्यहाँ फर्किनुभएको छ ? छ भने कहिले किन लेख्नुहोस् । तपाईं वा तपाईंको परिवारको सदस्यले अमेरिका रहँदाको अबस्थामा कुनै नराम्रो काम गरेको कारणले अमेरिकी सरकारको कारबाहीमा पर्नुभएको छ वा छैन ? तपाईंले यी माथिका प्रश्नहरुका उत्तरहरु आफैंले लेख्नु होस् । एक भन्दा बढी घटना भए क्रमैसंग कहिले ? कहाँ ? कसले ? किन गर्यो ? के भयो ? भन्ने कुरा प्रष्टसंग लेख्नु भयो भने तपाईंको शरणार्थीका लागि चाहिने वयान वा कथा पुरा भयो ।
यसपछि तपाईंको वकिलले यसमा छुटेका र आवश्यक पर्ने सम्वद्ध तथ्यहरु के के हुन सक्छन् त्यो निर्क्यौल गरी तपाईंसंग बाँकी कुराहरु सोधपुछ गरेर शरणार्थीको लागि चाहिने बयान तयार पार्न सक्दछन् पछि सम्म आउन सक्ने अप्ठ्याराहरुलाई दृष्टिगत गरेर । यसरी तपाईंले स्मरण गरेर टिपोट गर्नु भएको घटना विवरणका आधारमा वकिलले आवश्यक पर्ने तर छुटेका कुराहरु सोधपुछ गरेर तयार पारेको निवेदनका आधारमा न्यायकर्ताको अगाडि उपस्थित भै वयान गर्नुपर्दा तपाईंले सहज र विश्वसनीय रुपबाट आफ्ना कुरा व्यक्त गर्नु सक्नुहुन्छ र न्यायकर्ताले तपाईंको निवेदन स्वीकृत गर्ने बढी सम्भावना रहन्छ । किनकि आँकडाले देखाउँछ कानुन व्यवसायीको सहयोग लिनेहरुको शरणार्थी सम्वन्धि निवेदन बढी स्वीकृत हुन्छ कानुन व्यवसायीको सहयोग नलिनेहरुको तुलनामा ।

(बिनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एटर्नी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन
बार एशोसियसन एवं न्यूयोर्क ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ । हाम्रो कानुनी सेवाप्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहाँ राखिएको छ ।
तपाईंहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन । यहाँलाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ । तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम
रहने छैन । कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ। )

(तपाईको अमेरिकी अध्यागमन र न्यूयोर्क राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निःशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाँको
कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ ।
)