अमेरिकामा ग्रीनकार्ड पाउने आधार: विनोद रोका

अमेरिकालाई अवसरको भूमि, सपनाको संसार आदिको नामबाट पनि चिन्ने गरिन्छ । त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरु लालायित हुन्छन् । अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरुका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ । यसरी छुट्याइएका क्षेत्रहरुमा सामान्यतया पारिवारिक भीसा, कामदार भीसा, धार्मिक भीसा, डिभी चिठ्ठा मार्फत आउन पाउँने भीसा आदि पर्दछन् । जसका लागि अमेरिकामा रहेका स्पोन्सरहरुको आवश्यकता पर्दछ । स्पोन्सरले निवेदन दिएर विदेशीलाई अमेरिकामा स्थायी बसोबास गर्न पाउने भनि भीसाको स्वीकृती पाएर पनि बिभिन्न वर्गमा वर्गीकरण गरिएका भीसाको संख्या अमेरिका आउँन चाहने विदेशीको संख्या भन्दा धेरै कम हुने हुँदा वर्षौंसम्म पालो कुरेर बस्नु पर्दछ ।

तर यस मध्ये विज्ञान, कला, शिक्षा, व्यापार र खेलकुद क्षेत्रमा विशिष्ठ योग्यता भएका, आफ्नो कामको क्षेत्रमा ख्याती कमाएका र निरन्तर रुपबाट त्यसै क्षेत्रमा लागि रहेको विदेशीहरुलाई उनीहरुको अद्धितीय प्रतिभाको कदर गर्दै यस्ता व्यक्तिहरु अमेरिकामा आएर पनि त्यही क्षेत्रमा कार्यरत् रहने र त्यसबाट अमेरिकालाई भविष्यमा योगदान पुने देखिएमा स्पोन्सर बिना पनि अमेरिकामा ग्रीनकार्ड वा स्थायी बसोबासको लागि अनुमति पाउँ भनि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो भीसाको लागि स्पोन्सरको आवश्यकता नपरेता पनि व्यक्तिले आफ्नो क्षेत्रको दक्षता र ख्यातीको आधारमा अमेरिकी रोजगारदाताबाट कामको प्रस्ताव आएको वा त्यस क्षेत्रमा काम गर्ने आफ्नै योजना रहेको स्पष्ट रुपमा देखाउन सक्नु पर्दछ । यो भीसा पहिलो श्रेणीमा पर्ने हुँदा प्रायः सधैभरी सबै देशका व्यक्तिका लागि उपलव्ध भै रहेको हुन्छ । यस श्रेणीको भीसा पाउँ भनि विदेशीले पेश गरेको आप्रवासको निवेदनमा तोकिएको सवुद प्रमाण मापदण्ड भित्र परेमा छिटोमा ४५ दिन र बढीमा १ बर्ष भित्रमा स्वीकृत हुन सक्दछ ।
विनोद रोका एण्ड एशोसियटस पिसिका तर्फबाट अनृभव र व्यवसायिक दक्षताको सीपलाइ अमेरिकी अध्यागमन सम्वन्धि कानुनले तोकेको प्रकृया र मापदण्ड अनुरुप प्रयोग गरी नेपाल तथा अन्य देशका ख्यातीप्राप्त अभिनय क्षेत्रका कलाकार, गायक, संगीतकार, नृत्यकार, फोटोग्राफर, पत्रकार, कार्यक्रम प्रस्तोता, चित्रकार, मार्सलआर्ट्सका खेलाडी, प्रशिक्षक, टेवलटेनिसका खेलाडी, शिक्षा क्षेत्रका व्यक्तित्व आदिलाई यस श्रेणीको भीसा एवं ग्रीनकार्ड केहीलाई २ महिनाभित्र र केहीका मुद्दाहरु अपिल तहबाट पनि जिताउन सफल भएका छांै । यद्यपि प्रत्येक मुद्दाको प्रकृति एकै किसिमको नहुने हुँदा सबैमा एउटै किसिमको परिणाम आउँछ भन्न भने सकिन्न ।

असाधारण दक्षताको आधारमा ख्याती कमाएका विदेशी व्यक्तिहरुका लागि छुट्याइएको यो पहिलो श्रेणीको भीसा पाउनका लागि पुर्याउनु पर्ने पूर्वाधार भनेको व्यक्तिले आफ्नो कार्यक्षेत्रमा ख्यातीको शिखरमा पुगेको छु भनि प्रमाणित गर्नुपर्दछ । यस अन्तर्गत सामान्यतया कानुन व्यवसायी भने पर्न सक्दैनन् । यो श्रेणीको व्यक्ति भनेर प्रमाणित हुनुपर्ने भन्नाले
१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त गरेका वस्तुनिष्ट आधारबाट देखिन्छ,
२. यस्तो तथ्यलाई प्रचुर मात्रामा कागज प्रमाणबाट मान्यता दिईएको देखिन्छ,
३. यस्तो ख्याती पाएको विदेशी व्यक्तिले अमेरिकामा आएपछि पनि त्यही क्षेत्रमा काम गर्छ र
४. यसरी गरिएको कामले अमेरिकालाई पनि भविष्यमा त्यस क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने हुन्छ ।

अमेरिकी अध्यागमन सम्वन्धि कानुनले असाधारण क्षमताका भएका कारणले आफ्नो क्षेत्रमा ख्याती कमाएको तथ्य प्रमाणित गर्नका लागि नोवेल पुरस्कार जस्तो अन्तर्राष्ट्रिय स्तरको पुरस्कार कसैले एक पटक मात्र आफ्नो क्षेत्रमा उल्लेखनीय काम गरे वापतमा पाएको रहेछ भने एकपटकको ख्याती नै पर्याप्त हुन्छ असाधारण क्ष्ँमताको कारणले ख्याती पाएको व्यक्ति’ भनि स्थापित गराउनका लागि । यदि कसैले यस्तो प्रकारको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको पुरस्कार पाएको रहेनछ भने पनि तल लेखिएका दशवटा आधारहरु मध्ये कुनै तीनवटा आधार आफुसँग रहेको छ भनि प्रमाणित गर्न सकेको खण्डमा पनि यो वर्गको भीसा पाउन सक्दछ ।

१. पुरस्कार वा सम्मान: निवेदकले राष्ट्रिय अथवा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त भएका प्रमाणपत्र तथा पुरस्कार आफ्नो क्षेत्रमा विशिष्ठता हासिल गरे वापतमा प्राप्त गरेको छ । सामान्यतया यो मापदण्ड पुरा गर्नका लागि निवेदकले आफूले प्राप्त गरेका पुरस्कार वा प्रमाण पत्रको अनुवाद गरिएको फोटोकपी, यदि अंग्रेजी भाषामा छैन भने, पेश गर्नुपर्दछ । र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको कुरा लिखत प्रमाणबाट प्रमाणित हुनु पर्दछ । यसका लागि निवेदकले पुरस्कारको स्थापना भएको कारण, उद्देश्य, महत्व, यसको क्षेत्र, निर्णायकहरु मनोनित गर्दा अपनाईने आधार, निर्णायकहरुले सहभागी मध्येबाट पुरस्कारका लागि प्रतियोगीहरु मध्येबाट उत्कृष्ठको छनौट गर्ने प्रकृया र सहभागी हुनको लागि उमेर, क्षेत्र र वर्ग आदिको प्रतिवन्ध नभएको तथ्य खुलाउन सक्नुपर्दछ । यसका साथै अघिल्ला केही बर्षहरुमा क कसले यो राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको सम्मान वा पुरस्कार पाएका थिए त्यो पनि उल्लेख भएको हुनु राम्रो हुन्छ । अध्ययनको क्रममा पाएको शैक्षिक पुरस्कार प्रायः यो श्रेणीमा पर्दैन ।

२. सदस्यता: निवेदकले आफु सदस्य भएको संस्थामा सदस्यता पाउनका लागि सम्वन्धित क्षेत्रको विशेषज्ञहरुले ख्याती वा विशेषज्ञताको आधारमा विशेषज्ञहरुले छनोट गरेपछि मात्र पाईन्छ भन्ने देखाउन सक्नु पर्दछ । कुनै पेशा वा व्यवसायमा संलग्न रहेकै कारणले पाउने पेशागत तथा व्यवसायिक संगठनको सदस्यता वा पदले यो मापदण्ड पुरा गर्न सक्दैन ।

३. निवेदकको बारेमा प्रकाशित सामाग्रीः निवेदकको बारेमा पेशागत वा प्रमुख व्यापारिक वा अन्य राष्ट्रिय एवं अन्र्त राष्ट्रिय स्रतका संचार माध्यममा छापिएको अभिलेख । यसरी छापिएको कुरा निवेदकको ख्याती, योग्यता, विशेषता वा उपलव्धिको बारेमा हुनु पर्दछ । केवल निवेदकको नाम प्रसंगवस समुहमा वा कुनै सन्र्दभमा लेखिएर मात्र हुँदैन । अनि निवेदकको बारेमा छापिएको समाचार, समीक्षा आदि राष्ट्रिय स्तरको, धेरैले पढ्ने, बढी बिक्री हुने प्रमुख प्रकाशनको राष्ट्रिय स्तरका विषय छापिने पृष्ठमा छापिएको हुनुपर्दछ न कि स्थानीय वा क्षेत्रीयस्तरका गतिविधिहरु छापिने पृष्ठमा । साथै निवेदकको बारेमा छापिएका लेख, समाचार, समीक्षा छापिएको मिति, लेखकको नाम पनि खुल्नु पर्दछ जसले निवेदकको बारेमा लेख्ने वा भन्ने व्यक्तिको बारेमा जानकारी हुन सकोस् । निवेदकले अन्र्तवार्तामा आफैंले आफ्नो बारेमा भनेको कुरा भन्दा त्यस क्षेत्रका समीक्षक वा विशेषज्ञले भनेको कुराको बढी महत्व हुन्छ । त्यसैगरी निवेदकले संगै काम गरेका परिचित वा असम्वन्धित क्षेत्रका व्यक्तित्व भन्दा आफ्नो कामको आधारमा निष्पक्ष रुपमा मूल्यांकन गर्नसक्ने त्यही क्षेत्रका विशेषज्ञहरुबाट के कति कारणले गर्दा आफु अब्वल दर्जामा पुग्न सकेको हो भन्ने तथ्य वस्तृनिष्ठ आधारबाट देखिने खालका सिफारिसहरु संलग्न हुनु आवश्यक हुन्छ। यद्यपि विशेषज्ञको रायलाई मान्नै पर्छ भन्ने बाध्यता भने निर्णयकर्तालाई हुँदैन ।
४. निर्णयकर्ताको हैसियतबाट अरुको मूल्यांकन गरेको: निवेदकले आफ्नो वा आफ्नो विशेषज्ञताको क्षेत्रसंग सम्वन्धित भएको अरुको काम निर्णयकर्ताको हैसियतबाट एक्लै वा निर्णायक मण्डलको एक सदस्यको हैसियतबाट गरेको हुनु पर्दछ। त्यसमा निवेदकले माथि १ नम्वरमा उल्लेख गरिएको जस्तै पूर्वाधारहरु भएको देखाउन सक्नु पर्दछ। यसमा निवेदकले प्रतियोगिताको प्रकृति र उद्देश्य, निवेदकले निर्णायकमा मनोनित गरिएको आधार, प्रतियोगितामा भाग लिन पाउने प्रतियोगीहरुको छनौट गरिने प्रकृया, निवेदकले निर्णायकको हैसियतबाट गर्नुपर्ने काम आदि तथ्य सप्रमाण प्रष्ट्याउनु पर्दछ ।
५. योगदान: निवेदकले नवीन वैज्ञानिक, बौद्धिक, कलात्मक, खेल जगत, वा व्यापारसंग सम्वन्धित क्षेत्रमा ठूलो उपलब्धि हुने किसिमको योगदान गरेको तथ्य प्रमाणित गरेको खण्डमा यो आधार पुरा हुन सक्दछ ।

६. छापिएका बौद्धिकतायुक्त लेखहरु: निवेदकले लेखेको बौद्धिकता देखिने लेखहरु पेशागत वा प्रमुख व्यापारिक प्रकाशन वा अन्य प्रमुख संचार माध्यममा प्रकाशित भएको छ भने यो आधार पुरा हुन सक्दछ । यो तथ्य प्रमाणित गर्नका लागि निवेदकले आफ्नो लेखको नाम, महत्व, छापिनु अगाडिका छनौट गरिने प्रकृया, छापिएको प्रकाशनको नाम, मिति, छापिएको लेखले त्यस क्षेत्रमा पारेको प्रभाव अनि अरुले ती लेखहरुलाई आधिकारिक वा श्रोतको रुपमा आफ्नो लेख आदिमा उल्लेख गरेको दृष्टान्त आदि तथ्य पनि सप्रमाण पुष्टि गर्नुपर्दछ ।

७. श्रृजना वा काम कला प्रर्दशनी वा सोकेजमा प्रर्दशनमाः निवेदकको श्रृजना वा काम कला प्रर्दशनी वा सोकेजमा प्रर्दशनमा राखिएको अभिलेख। यस अन्तर्गत चित्रकलाहरु राष्ट्रिय र अन्र्त राष्ट्रिय स्तरका प्रदर्शनीमा राखिएको चर्चा परिचर्चा प्रमुख संचार माध्यममा छापिएको प्रमाणित हुनु पर्दछ ।

८. संस्थामा महत्वपूर्ण भूमिका: निवेदकले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त संगठनको अग्रणी वा महत्वपूर्ण भूमिका खेलेको प्रमाण ।

९. बढी तलब वा पारिश्रमिकः निवेदकले आफ्नो क्षेत्रमा काम गर्दा अरुको तुलनामा बढी तलब वा पारिश्रमिक पाउने गरेको छ भन्ने तथ्यको प्रमाण । यस अन्तर्गत काम लगाउने व्यक्ति, संस्था वा कुनै आधिकारिक निकायबाट आफुले ख्याती र दक्षताको आधारमा अरुले भन्दा बढी तलब वा पारिश्रमिक पाउने गरेको नम्वर कति हो र अरुको भन्दा कतिले फरक छ त्यो तुलनात्मक रुपबाट प्रष्टिएको हुनु राम्रो हुन्छ । लेखापरीक्षकले वा अन्य कुनै व्यक्तिले बिना आधार प्रमाणित गरिदिएको कागज प्रयाप्त हुँदैन ।

१०. व्यवसायिक सफलता: निवेदकले खेलेको फिल्म, नाटक, म्युजिक भिडियो, सिडी आदि सर्वाधिक सफल भै व्यावसायिक सफलता हासिल गरेको तथ्य प्रमाणित भएमा यो आधार पुरा भएको मानिन्छ । यस तथ्यको प्रमाण भनेको टिकट बिक्री भएको आंकडा र चलेको समयलाई तुलनात्मक रुपबाट प्रमाणित गर्नु पर्दछ। साथै सिडी, डिभिडी, संगीत आदिको हकमा पनि उत्पादन भएको बर्षभरी बिक्री भएको संख्या र रकमलाई त्यसै बर्षमा बजारमा बिक्री वितरणमा आएका उत्पादनहरुको तुलनात्मक विवरण उल्लेख भएको हुनु पर्दछ ।

११. वैकल्पिक प्रमाणः यदि निवेदकको पेशामा माथि लेखिएका आधारहरु सामान्यतया मिल्न सक्दैनन् भने माथि लेखिएका आधारसंग तुलना गर्न सकिने अरु प्रमाणहरु पनि पेश गर्न सकिन्छ ।
निवेदकले प्राप्त गरेका प्रमाणपत्र, प्रकाशनमा आएका लेख, समीक्षा र समाचार आदि अंगे्रजी भाषामा छैनन् भने तिनीहरुको अनुवाद दुबै भाषामा दक्षता हासिल गरेकोे व्यक्तिले अनुवाद गरेको हो भनि नोटरी पब्लिकको अगाडी गएर अनुवाद गर्ने व्यक्तिले सही गरेको प्रमाणपत्र संलग्न भएमा मात्र ईमिग्रेशनले प्रमाणको रुपमा लिन्छ ।

I ———hereby certify that I have translated attached and/or the following document/s from Nepali into English as presented to me for translation. I am competent with both Nepali and English languages. It is accurate translation to the best of my knowledge and ability.
_________________
Name:
Sworn and subscribed to before me ID:
on this th day of —–l, 20—-. Tel:

Notary Public

यो अमेरिकी अध्यागमन सम्वन्धि कानुनले तोकेको कानुनी प्रावधान हो । यदि यसरी रित नपुर्याई पेश भएको अनुवाद रहेछ भने त्यो प्रमाणको लागि ग्राह्य हुदैन । हाल नेपालबाट आउने अनुवादहरु प्रायः रित नपुगी आउने गरेको हँुदा अध्यागमन अदालत र अध्यागमन कार्यालयले अस्वीकार गरेको अनुभव गरिएको छ । र मैले यो बिषयमा नेपाल सरकारका केही अधिकारीहरुसंग पनि कुरा गरेको थिएँ तथापि यो सामान्य कुरा सम्वन्धित ठाउँमा पुग्न सकेको छैन र अहिले पनि नेपालबाट व्यक्तिहरुले पैसा तिरेर त्यसरी नै अनुवाद गरिएका कागजहरु लिएर आउने गरेको पाइन्छ र धेरै अवस्थामा त्यस्ता कागजले मान्यता नपाएपछि पुनः अर्को अनुवाद गराउँदा दोहोरो खर्च र काममा ढिलाई हुने गरेको पाईन्छ । त्यस्तै कतिपय अनुवादहरु अंग्रेजीमा अनुवाद हुँदा नेपालीमा भनिएको कुरा नखुलेको पनि भेटिएको छ । त्यसैले निवेदकको अनुवाद गरिसकेपछि आफुले पनि राम्ररी हेर्ने वा दोहोर्याएर हेर्न लगाउने र रित पुर्याएर मात्र अनुवाद गरिएको कागज लिने गर्नु उचित हुन्छ ।

(प्रस्तृत लेख नेपाली पाठकहरुलाई सामान्य जानकारी गराउने उद्देश्यले मात्र तयार पारिएको हो | यो श्रेणीको भीसाको निवेदन तयार गर्दा त्यस बिषयमा धेरै अनुसन्धान र अध्ययन गरी निवेदकको क्षेत्र र बिषय वस्तृको प्रकृति अनुसार कार्वाही अगाडी बढाउनु पर्दछ । तसर्थ अध्यागमन कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा एटर्नीको सल्लाह लिई गर्नु उचित हुन्छ ।)

(तपाईको कुनै कानुनी समस्या भए नि:शुल्क कानुनी सल्लाहको लागि न्यूयोर्कमा बसेर अध्यागमन सम्बन्धी वकालत गर्दै रहेका रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com र www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुन्छ |)