अमेरिकामा अनधिकृत रुपमा बस्दा लागेको प्रतिवन्धलाई शर्तसहितको माफी

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क

सन् १९९६ मा अमेरिकी कंग्रेसले अद्यागमन सम्वन्धि कानुनमा केही संशोधन गर्यो । जुन संशोधनले विदेशी नागरिकले अमेरिकामा कानुनले तोकेको समय भन्दा बढी समयसम्म अनधिकृत रुपबाट बसेर आफ्नो देशमा फर्र्कि गएमा त्यस्ता व्यक्तिलाई अमेरिकाको ग्रीनकार्ड पाएर अमेरिका प्रवेश गर्न ३ वा १० बर्षसम्म प्रतिवन्ध लाग्छ जबसम्म अद्यागमन अधिकारीबाट वेभर पाउँदैनन् ।

अप्रिल १, १९९७ पछि कुनै विदेशी नागरिक अमेरिकामा तोकिएको समय भन्दा १८० दिन भन्दा बढी समयसम्म बसी आफ्नो देश फर्किएमा ३ बर्षसम्म र १ बर्षभन्दा बढी समयसम्म बसी फर्किए गएको अबस्थामा १० बर्षसम्म अमेरिकामा प्रवेश गर्न सक्दैनन् । अमेरिकाबाट डिपोर्ट भएपछि पनि अनियमित प्रकृयाबाट अमेरिका प्रवेश गर्ने विदेशी नागरिक एवं डिपोर्ट भै अमेरिकामा नै बसिरहेका व्यक्तिहरुका हकमा पनि यही नियम लागु हुन्छ । त्यस्तै अमेरिकी कानुनले दिएको सुविधा पाउनका लागि जालसाँजी अथवा झुठो तथ्य पेश गर्ने विदेशी नागरिकलाई अमेरिकामा जीवनभर प्रवेश गर्न नपाउने प्रतिवन्ध लाग्दछ, जबसम्म त्यो प्रतिवन्ध हटाउने स्वीकृती अद्यागमन अधिकारीबाट प्राप्त हुँदैन ।

प्रतिवन्ध हटाउने (वेभर) को सुविधा पाउनका लागि I- 601 नामक फर्म भरी अमेरिकी अद्यागमन कार्यालय समक्ष दिनुपर्दछ जसमा निवेदकले देखाउन सक्नुपर्छ कि निवेदकको अमेरिकी नागरिक वा ग्रीनकार्ड भएका पत्नी वा आमाबाबुलाई अत्यधिक कष्ट Extrime Hardshipहुन्छ यदि वेभर दिएर निवेदकलाई अमेरिकामा प्रवेश गरी बसोबासको अनुमति दिइदैन भनें । यो अनुमति पाउनका लागि अमेरिकामा बसोबास गरिरहेका विदेशी नागरिक जसलाई ३ वा १० बर्षसम्म अमेरिका पस्न र बस्न नपाउने प्रतिबन्ध लागेको छ त्यस्ता व्यक्तिले अमेरिकामै भएपनि यो फर्म अमेरिकामा रहेको अद्यागमन कार्यालय समक्ष दिन सक्दैनथे र त्यसको लागि आफ्नो देशमा रहेको अमेरिकी कन्सुलर अफिसमा दिन जानुपर्ने र यसरी दिएको निवेदनमा कार्वाही भै अनुमति नदिउन्जेलसम्म अमेरिका प्रवेश गर्न सक्दैनथे जसले गर्दा वेभर लिन आफ्ना नजिकका परिवारका सदस्यहरुलाई अमेरिकामा छाडेर कार्वाहीको लागि आफ्नो देशमा जानुपर्ने र अमेरिकी कन्सुलरले कार्वाहीको टुंगो नलगाउन्जेलसम्म आफ्ना नजिकका परिवारका अमेरिकामा रहेका सदस्यहरुबाट बिछोडिनुपर्ने हुन्छ । यसरी बिछोडिएर बस्नुपर्ने समय महिनौंदेखि वर्षौंसम्म पनि बित्न सक्दछ । यदि वेभर नदिएर पुनरावलोकनका लागि अनुरोध गर्नुपर्ने अवस्था परेमा परिवारका सदस्यहरुबाट अझ कति लामो समयसम्म बिछोडिनुपर्ने हो यकिन गर्न सकिदैंन ।

यो संवेदनशील अवस्थालाई दृष्टिगत गरी राष्ट्रपति बाराक ओबामाले कानुनले दिईरहेको सुविधा पाउने हाल भैरहेको घुमाउरो प्रकृयामा संशोधन गरी अब यस्तो सुविधा पाउन सक्ने विदेशीले अमेरिकामा रहेको अद्यागमन कार्यालयसमक्ष निवेदन दिन पाउने व्यवस्था मिलाउन आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् । यो निर्देशनलाई कार्वान्वयन गर्नका लागि अद्यागमन कार्यालयले भैरहेको नियममा संशोधन गरी नयाँ नियमको मस्यौदा गरेर प्रतिकृयाका लागि सार्वजनिक गरिसकेको छ । यसरी गरिएको संशोधित व्यवस्था के हो भने अमेरिकाको नागरिक वा ग्रीनकार्ड भएका व्यक्ति नजिकको नातेदार भएका विेदेशी नागरिकले अमेरिकामा अनधिकृत रुपबाट बसेको कारणले लागेको प्रतिवन्ध हटाई पाऊँ भनि आफ्ना नजिकका नातेदारलाई आफ्नो अभावमा पर्ने एक्सट्र्मि हार्डशीपको सवुद प्रमाणसहित अमेरिकामा नै रहेको अद्यागमन कार्यालय समक्ष निवेदन दिन सक्दछ ।
यसरी परेको निवेदनमा अद्यागमन कार्यालयले प्रमाणको मूल्यांकनका आधारमा शर्तसहितको वेभर दिएमा त्यस्तो विदेशी नागरिक आफ्नो देशमा रहेको अमेरिकी कन्सुलर अफिसले ग्रीनकार्डको लागि तोकिदिएको अन्तरवार्ताका दिनमा मात्र गए पनि हुन्छ । तर अन्तरवार्ताको क्रममा अमेरिकी कन्सुलरले वेभरबाट हटाइएको अयोग्यता सम्वन्धि प्रश्नका अतिरिक्त अन्य अयोग्यतासम्वन्धि प्रश्नहरु जस्तो स्वास्थ्य, सुरक्षा आदि सोधपुछ गर्न सक्दछ । यदि यसरी सोधपुछ गर्दा प्रतिवन्ध लाग्ने आधारहरु देखिएमा वा वेभरमा दिएका तथ्यहरु झुठा देखिएमा दिएको वेभर बदर गर्न सिफारिस वा अन्य प्रतिवन्ध लाग्ने आधारहरु भेटेमा ग्रीनकार्ड दिन नसक्ने सम्भावना पनि रहन सक्छ ।

अमेरिकामा रहेको अवस्थामा स्थायी बसोबासको सुविधा पाउन पनि सक्ने सम्भावना छ भन्ने ठहर्याई शर्तसहितको वेभरको सुविधा अद्यागमन कार्यालयले दिइसकेका व्यक्तिलाई अमेरिकाबाट निष्काशन गरियोस् भनि अद्यागमन कार्यालयले अदालतसमक्ष मुद्दा चलाउँदैन । यद्यपि त्यस्ता व्यक्तिले वेभरको लागि दिएको निवेदनमा दिएका आधारहरु झुठो ठहरिएको अवस्थामा भने अद्यागमन कार्यालयले देश निष्कासनको कार्वाही चलाउन भने सक्दछ ।
संशोधन गरिएको नियमले कानुनमा रहेको सुविधा पाउनका लागि हाल भै रहेको घुमाउरो प्रकृयालाइ छोट्याइएको अवस्थामा यस्ता सुविधा पाउनकालागि दिइने निवेदनहरु चाँडो निर्णय हुने, खर्चमा कटौती हुने र पाउनुपर्ने सुविधा पाउनका लागि धेरै समयसम्म विदेशी नागरिकले अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यहरुबाट विछोडिएर बस्नुनपर्ने भएको छ । यो वेभरको व्यवस्थाले विदेशी नागरिकलाई कुनै स्टाटस एवं सुविधा भने प्रदान गर्दैन । यो वेभर पाउने निवेदन कहाँ ? कहिलेदेखि ? र कसरी पठाउने भन्ने विषय अप्रिल २७, २०१२ सम्म तय भै सकेको छैन । यस सम्वन्धमा अद्यागमन कार्यालयले आफ्नो वेभसाइटमा सूचना पनि निकालेको छ । साथै सूचनामा नियम लागू भैसक्यो भनेर सुविधा पाउन सक्ने सम्भावना भएका व्यक्तिबाट अनधिकृत व्यक्तिहरुबाट ठगिन सकिने हुँदा चनाखो हुन र त्यस्तो भएमा उजुर गर्न पनि सचेत गराइएको छ । यदि कसैले नियम लागू हुनुभन्दा अगाडी नै निवेदन पठाएमा अद्यागमन कार्यालयले फर्काई दिन्छ । अतः सुविधा पाउन माथि लेखिएका आधार पुरा गर्न सक्ने विदेशी नागरिकले अद्यागमन कानुनमा दखल राख्ने एटर्नी एट लको कानुनी परामर्श लिएर मात्र प्रकृया अगाडी बढाउनु उचित हुन्छ ।

ओबामा प्रशासनले एकातिर कांग्रेसबाट विधेयक पारित गराउन चाहिने बहुमत नभएको हुँदा हालसम्म आप्रवासीहरुलाई सुविधा दिने खालका कुनै पनि काम गर्नसकेको छैन भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति मध्ये अनधिकृत रुपबाट अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुलाई सबभन्दा बढी निष्कासन गर्ने यो प्रशासन हुन पुगेको छ । ओबामा प्रशासनले निष्कासन गरेको संख्या प्रत्येक बर्ष करिब चार लाख रहेको छ ।

http://pubrecord.org/nation/9979/obama-immigration-agency-exaggerating.

ओबामा प्रशासनले आफ्नो कार्याकालको तेश्रो बर्षमा भने अनधिकृत रुपबाट अमेरिकामा बसोबास गरिरहेका आप्रवासीलाई भैरहेको कानुनले दिईरहेको सुविधा सरल तरिकाबाट प्राप्त गर्न सक्ने केही व्यवस्था गरेको छ। ती हुन Prosecutorial Discretion र Provisional Unlawful Presence Waiver सम्वन्धि व्यवस्था ।

Prosecutorial Discretion अन्तर्गत हाल अद्यागमन अदालतसमक्ष देश निष्कासनका लागि भनेर चलिरहेको मुद्दाहरु मध्ये कानुनमा भै रहेको वा पछि आउने कानुन जस्तो ड्रिम एक्टले दिने सम्भावित सुविधा पाउन सक्ने र आपराधिक गतिविधिमा संलग्न नभएका व्यक्तिहरुको मुद्दा बन्द गरिदिई हाल बस्न दिने र अर्को सुविधा भनेको अनधिकृत रुपबाट अमेरिकामा बसेको अवधिको शर्तसहितको माफी अर्थात् Provisional Unlawful Presence Waiver सम्वन्धि व्यवस्था हो ।
Provisional Unlawful Presence Waiver को सुविधा पाउने मुद्दामा के गर्ने भन्ने कुरा प्रायः व्यक्तिले एटर्नीबाट सल्लाह पाउन सक्ने सम्भावना रहन्छ किनकि यस्ता मुद्दा अदालतमा बिचाराधिन रहने हुन्छन् । यद्यपि मुद्दा फिर्ता लिंदाको अवस्थामा फाईदा वेफाईदा के हुन्छ ? त्यो पनि महत्वपूर्ण हुँदैन भन्ने होईन । व्यक्तिले यसबारेमा पनि राम्ररी बुझ्न आवश्यक हुन्छ नै । किनकि मैले प्रतिनिधित्व गरेका केही मुद्दामा सरकारी वकिलबाट मुद्दा फिर्ताको लागि प्रस्ताव राखिएको थियो तर मुद्दा फिर्ता लिनुभन्दा मुद्दामा निर्णय हुँदा पाउन सकिने परिणाम राम्रो देखियो र पक्षको सहमतिले मुद्दा फिर्ता लिने सरकारी प्रस्ताव स्वीकार गरिएन । मुद्दा फैसला हुँदा पक्षहरुले सुविधा पाउने ठहर भयो । यसरी पछि आउला भन्ने अनिश्चित सुविधाको बदला पक्षहरुको हातमा अहिले नै अमेरिकामा बसोबास गर्ने कागज प्राप्त भयो ।

अमेरिकामा अनधिकृत रुपबाट बसेको अवधिको शर्तसहितको माफी पाउनका लागि कार्वाही चलाउन चाहने व्यक्तिहरुले अद्यागमन अदालतमा मुद्दा चलिरहेका व्यक्तिले जसरी एटर्नीको सुविधा पाउन सक्ने अवस्था नरहन पनि सक्छ किनकि यो वेभरको सुविधा पाउनका लागि तोकिएको फर्ममा मागिएका सूचनाहरु भरी लाग्ने दस्तुर राखेर अद्यागमन कार्यालयमा निवेदन पठाऊ सकिन्छ । र यो सुविधा उपलब्ध छ भनि एटर्नीले भन्दा पहिले गैरएटर्नीहरुले बजारमा हल्ला फिंजाउँछन् र अमेरिकामा कागजका लागि तड्पिएर बसिरहेका व्यक्तिहरु सोधखोज नै नगरी त्यस्तै व्यक्तिहरुका पसलमा पुग्दछन् अनि ठगिन्छन् । धेरै जस्तो अवस्थामा यस्ता व्यक्तिहरु पैसा लिई केही समयपछि आफुले राखेको पसल छोडेर भाग्ने गरेको पनि पाईन्छ ।

बजारमा चलेका हल्लाको आधारमा, एजेन्सी चलाएर बस्ने व्यक्ति, नोटरी पब्लिक, दलाल र विदेशमा वकिल भै हाल यहाँ फोरेन एशोसियट्सको लाइसेन्स पाएर आफ्नो देशको कानुनको विषयमा मात्र सल्लाह र सेवा गर्ने ईजाजत पाएका व्यक्तिबाट बच्नुहोला । किनकि मैले र अरु कतिपय एटर्नीहरुले नयाँ सुविधा दिने कानुन आयो रे ? अरुले त कागज पनि हालीसके रे ? तपाईहरुलाई थाहा छैन र ? भनेर सोध्ने गरेको पाईन्छ र यसरी भन्ने व्यक्तिहरुले आफृले थाहा पाएको श्रोत भने यी माथि लेखिएका अनधिकृत व्यक्तिहरु नै भएको बताउँछन् ।

तपाईहरु अमेरिका जस्तो कानुनी राज र स्वतन्त्रता भएको शिक्षित देशमा आउनुभएको छ । कम्तीमा झुठा कुरा गरेर फसाउने र सत्य कुरा बताएर सेवा प्रदान गर्नुपर्ने दायित्व भएका अधिकृत पेशेवर को हुन् भनि छुट्याउने बुद्धि र विवेकको प्रयोग गर्नुहोस् । आफ्नो अधिकार र कर्तव्य राम्ररी बुझ्नुहोस् र अरुलाई पनि सतर्क गराउनुहोस् ।

ओबामा प्रशासनको अनधिकृत रुपबाट अमेरिकामा बसेको अवधिको शर्तसहितको माफी अर्थात Provisional Unlawful Presence Waiver सम्वन्धि व्यवस्था हाल कार्यान्वयनमा आएको छैन तर आउने प्रकृयामा भने छ । यसको लागि केही महिना पर्खिनुपर्ने हुन्छ । तथापि केही अनधिकृत व्यक्तिहरुले यो व्यवस्था लागू भै सक्यो भनि व्यक्तिहरुबाट कामको लागि पैसा पनि लिन थालेको भन्ने सुन्नमा आउने गर्दछ जुन सत्य होईन । अतः झुठो कुरा भनि ठगी गर्ने व्यक्तिबाट सजग हुनुहोला भन्ने उदेश्यले यो लेख तयार पारिएको हो। यो सुविधा पाउने सम्वन्धमा कहिलेदेखि ? कहाँ ? र कस्ता प्रमाण राखेर निवेदन दिनुपर्छ भनि तपार्इंले एटर्नीको मद्दत लिनुहोस् वा अद्यागमन कार्यालयको वेभसाईट uscis.gov/avoidscams हेर्ने गर्नुहोस् ।

(नोट : यो लेखमा व्यक्त गरिएका बिचारहरु पाठकको सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका लागि सल्लाह भने होईनन् । तसर्थ यसमा व्यक्त बिचारले पक्ष र कानुन व्यवसायीको सम्वन्ध कायम हुन सक्दैन । तपाईंलाई अमेरिकी अद्यागमन कानुन सम्वन्धि हाम्रो कानुनी सल्लाहको आवश्यकता परेमा न्यूयोर्कमा बसेर अध्यागमन कानुनमा वकालत गरिरहेका नेपाली कानुन व्यवसायी विनोद रोका एण्ड एशोसियट्स पिसी, न्यूयोर्क, फोन नं. ७१८ ६०६ ९७३३, ईमेल, info@binodlaw.com मा सम्पर्क राख्नु हुन वा www.binodlaw.com मा क्लिक गर्नु हुन आग्रह गर्दछौं ।)