अध्यागमन सम्बन्धी दोश्रो प्रश्न

म अमेरिका आएको पाँच वर्ष भयो । म टुरिष्ट भिसामा आएकी थिएँ र यहाँ आएपछि मैले पोलिटिकल एसाइलम गरेर कागज बनाएँ र अहिले यहींको सिटिजन समेत लिईसकेकी छु । मैले सिटिजन लिएको पनि एक वर्षभन्दा बढी भयो । यस बीचमा म तेश्रो मुलुक बेलायत,बहराइन गएर पनि फर्केर आएँ । तर अहिले मलाई नेपाल जानुपर्ने भएको छ । कसैले भन्छन् पोलिटिकल एसाइलम गरेको व्यक्तिले फेरि कसरी आफ्नो देश भनेर जान मिल्छ र ? अनि म भन्छु म त अब अमेरिकी नागरिक भैसकें । तैपनि प्रष्ट हुन सकेको छैन । के मैले अब पनि सिधै नेपाल जान मिल्दैन र ? म त्यसरी जाँदा अमेरिकाले मेरो सिटिजन रद्द गरिदिन्छ वा के हुन्छ भन्ने बारेमा बताई दिनु हुन्छ कि त ?
राधिका शर्मा,मेरिल्याण्ड

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क

अमेरिकामा शरणार्थीको दर्जा पाएको १ बर्षपछि ग्रीनकार्डको लागि दिएको निवेदन स्वीकृत भएर तपार्ईले १ बर्ष भन्दा पनि बढी समय अगाडी अमेरिकी नागरिकता प्राप्त गरि सक्नु भएको हुँदा अमेरिकी पासपोर्टमा नेपालको भिषा लिएर नेपाल जान मिल्छ र यसरी नेपाल गएर अमेरीकामा फर्किदा तपाईको अमेरिकी नागरिकता कुनै अरु कारण बेगर रद्द हुन सक्दैन। शरणार्थीले ग्रीनकार्ड नपाउन्जेलसम्मका लागि मात्र आफु अझै पनि एजाईलीकै अवस्थामा रहेको अर्थात नेपालमा रहंदा शारीरिक्, आर्थिक वा मानसिक रुपमा सरकार वा सरकारले नियन्त्रण गर्न नसकेका शक्ति वा समुहबाट जात, धर्म, राष्ट्रियता,राजनैतिक बिचारधारा वा कुनै चिनिएको सामाजिक समुहको सदस्यता मध्ये कुनै एउटासंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपले संलग्न रहेको कारणले दु:ख, यातना पाएको र अमेरिकाबाट फर्किएर नेपाल गएको खण्डमा यातना सोही कारणले पाऊने सम्भावना रहेको र परिस्थिमा कुनै सकारात्मक परिवर्तन आएको छैन भन्ने देखाउनु पर्ने हुन्छ। तर ग्रीनकार्ड पाईसकेपछि पनि यस्तै अबस्था रहिरहनु पर्दैन।
अमेरिकी नागरिेकलाई अमेरिकाबाट बाहिर गई पुन: फर्किएर अमेरिका प्रवेश गर्दाको अबस्थामा Customs and Boarder Patrol (CBP) को अधिकृतले विदेशी व्यक्तिलाई झैं अमेरिका प्रवेश गर्न योग्य छ कि छैन भनि जाचबुझ गर्दैनन् । यद्यपि कुनै विदेशीले झूठो व्यहोराको आधारमा अमेरिकामा एजाईलम,ग्रीनकार्ड वा अंगीकुत नागरिकता प्राप्त गरेको भन्ने तथ्य प्रमाणित भएमा अमेरिकाभन्दा बाहिर नगएपनि अद्यागमन कार्यालयले नागरिकता बदरका लागि अदालतमा मुद्दा चलाउन सम्म सक्दछ । तर अदालतको निर्णय बेगर अंगीकृत नागरिकता रद्द गर्न भने सक्दैन।

(एटर्नी रोकाले अध्यागमन सम्वन्धि दिनुभएको यो जवाफ अमेरिकी कानुनी व्यवस्थाको बारेको आधारभूत र सामान्य जानकारी गराउनेसम्मको लागि मात्र हो । विस्तृत जानकारी र परामर्शका लागि हामी रोकासंग सम्पर्क गर्नुहुन आग्रह गर्दछौं । तपाईंका अध्यागमन सम्बन्धी कुनै जिज्ञासा छन् भने हामीलाई globenepal@gmail.com मा इमेल गर्नुहोस् हामी सम्बन्धित कानुन व्यवसायीद्वारा तपाईंको समस्या समाधान गरिदिने प्रयास गर्नेछौं ।)
(तपाईसंग कुनै कानुनी जिज्ञासा भए भए नि:शुल्क परामर्श र सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा
www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ ।)